सुनसरीको देवानगञ्जमा कर्फ्यु उल्लङ्घनपछि नेपाली सेना परिचालन, तनाव कायम

भर्खरै

इनरुवा, ११ साउन/सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शन भएपछि नेपाली सेनाको टोली परिचालन गरिएको छ।
प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि सुरक्षा अवस्था थप तनावपूर्ण बनेको भन्दै नेपाली सेना परिचालन गरिएको हो।
सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार चार सय नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै नेपाली सेनाको टोली गाडीसहित घटनास्थलमा परिचालन गरिएको छ।
घटनापछि शान्ति–सुरक्षाको अवस्थाबारे छलफल गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षीय बैठक पनि सुरु भएको छ।
आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। सो घटनामा गोली लागेर अन्य नौ जना घाइते भएका छन्।