धनगढीमा सम्पन्न ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’, निशा सन्ज्याल प्रथम

भर्खरै

धनगढी, १० साउन/सुदूरपश्चिम प्रदेशका लोकदोहोरी प्रतिभालाई एउटै मञ्चमा ल्याउने उद्देश्यले आयोजित ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिको आयोजनामा तथा प्रतिष्ठान कैलाली र कञ्चनपुर शाखाको सह–आयोजनामा धनगढीस्थित इन्द्रेणी दोहोरी साँझमा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रतिभाहरूबीच कडा प्रतिस्पर्धा भएको थियो।


प्रतियोगितामा उत्कृष्ट गायन प्रस्तुत गर्दै निशा सन्ज्याल प्रथम भई ‘सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ को उपाधि जित्न सफल भइन्। यस्तै जेनिशा नेपाली द्वितीय र टिका साउद तृतीय स्थान हासिल गर्न सफल भए भने झुमा क्षेत्री ले सान्त्वना पुरस्कार प्राप्त गरिन्।
विधागत उत्कृष्टतर्फ पदम बि.सी. उत्कृष्ट गायक तथा दीपा बम उत्कृष्ट गायिकाका रूपमा सम्मानित भए।


आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य सुदूरपश्चिमका गाउँ–बस्तीमा लुकेर रहेका लोकदोहोरी प्रतिभाको खोजी, संरक्षण र प्रवर्द्धन गर्नुका साथै लोकसंस्कृतिप्रति नयाँ पुस्ताको आकर्षण बढाउनु हो।
कार्यक्रमको सह–आयोजनामा प्रतिष्ठानका कैलाली र कञ्चनपुर शाखा रहेका थिए भने इन्द्रेणी दोहोरी साँझ मुख्य प्रायोजकका रूपमा रहेको थियो।