सरकार र डा. गोविन्द केसीबीच सहमति, अनशन अन्त्य हुने संकेत

भर्खरै

धनगढी, ११ साउन/चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका माग राख्दै २४औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसी र सरकार पक्षबीच वार्तामार्फत सहमति भएको छ। सहमतिको मस्यौदा अनुमोदनका लागि प्रधानमन्त्री बालेन शाह र शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसमक्ष पठाइएको छ। अनुमोदनपछि औपचारिक रूपमा सहमतिपत्रमा हस्ताक्षर गरिने जनाइएको छ।
सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा तथा शिक्षा सचिव चूडामणि पौडेल सहभागी थिए भने डा. केसीका तर्फबाट डा. अमृत जैसी र डा. पवन थापा वार्तामा सहभागी भएका थिए। वार्ता सेती प्रादेशिक अस्पतालमा आइतबार र सोमबार सम्पन्न भएको हो। छलफलमा प्रतिनिधिसभा सदस्य पुकार बम पनि सहभागी थिए।
डा. केसी पक्षका वार्ता टोली सदस्य डा. अमृत जैसीका अनुसार दुवै पक्षबीच सबै विषयमा सहमति भइसकेको छ। अब प्रधानमन्त्री र सम्बन्धित मन्त्रीबाट अनुमोदन भएपछि औपचारिक हस्ताक्षर गरिनेछ।
सहमतिअनुसार सुदूरपश्चिमका लागि बहुप्रतीक्षित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रक्रिया तीव्र रूपमा अघि बढाइने भएको छ। तत्काल ३०० शय्याको अस्पताल सञ्चालन गर्ने, आवश्यक दरबन्दी सिर्जना गरी कर्मचारी भर्ना प्रक्रिया सुरु गर्ने तथा मेडिकल शिक्षाको पठनपाठन यसै शैक्षिक सत्रदेखि सञ्चालन गर्ने सहमति भएको छ।
यस्तै, विवादमा रहेका रजिस्ट्रार डा. भीमबहादुर चन्दलाई पदमुक्त गर्ने र उपकुलपति डा. सुनिलप्रसाद जोशीलाई ऐन संशोधन नभएसम्म पदमा कायम राख्ने सहमति पनि भएको छ। ऐन संशोधनपछि खुला प्रतिस्पर्धाबाट नयाँ उपकुलपति नियुक्त गरिने सहमतिमा उल्लेख छ।
डा. केसीले चिकित्सा शिक्षा आयोगमा भएका विवादास्पद नियुक्ति खारेज, छात्रवृत्ति कटौती र निजी मेडिकल कलेजमा मापदण्डविनाको सिट वृद्धि रोक्न, चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउन तथा विगतका सहमति कार्यान्वयन गर्न सरकारसँग माग राखेका थिए। साथै सुदूरपश्चिम लगायत सीमावर्ती क्षेत्रमा स्वास्थ्य, शिक्षा र पूर्वाधार विस्तार तथा भ्रष्टाचार र गम्भीर अपराधका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग पनि अघि सारेका थिए।
डा. केसीले यी मागसहित गत बिहीबारदेखि धनगढीस्थित कृष्ण मन्दिरमा अनशन सुरु गरेका थिए। स्वास्थ्य अवस्था जटिल बनेपछि शनिबार उनलाई सेती प्रादेशिक अस्पतालको आइसियुमा भर्ना गरिएको थियो। हाल उनको उपचार आइसियुमै भइरहेको छ।