सुदूरपश्चिम गाईजात्रा सिजन–२ भदौ १७ मा, मनोज गजुरेलको विशेष प्रस्तुति रहने

भर्खरै

धनगढी, १२ साउन/सुदूरपश्चिमको मौलिक कला, संस्कृति तथा गाईजात्रा परम्पराको संरक्षणसँगै हास्य–व्यंग्यमार्फत सामाजिक चेतना फैलाउने उद्देश्यले बैजनाथ सञ्चार प्रालिले ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ आयोजना गर्ने भएको छ।
मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रवन्ध निर्देशक तथा मूल संयोजक सरस्वती कुमारी खड्का भट्टले आगामी भदौ १७ गते धनगढीस्थित एसटीएस सिनेमा हलमा कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो।
उहाँका अनुसार पहिलो संस्करणमा प्राप्त उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रियालाई निरन्तरता दिँदै यस वर्ष कार्यक्रमलाई अझ भव्य, व्यवस्थित र सन्देशमूलक बनाइनेछ।

कार्यक्रममा चर्चित हास्य कलाकार मनोज गजुरेलको विशेष प्रस्तुति रहनेछ भने सुदूरपश्चिमका विभिन्न हास्य–व्यंग्य कलाकारहरूको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ। कार्यक्रममा हास्य–व्यंग्य नाटक, कविता, गीत–संगीत, देउडा, सुदूरपश्चिमका मौलिक लोक तथा सांस्कृतिक प्रस्तुति र मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम समावेश गरिनेछ।
मनोरञ्जनसँगै लागुऔषध दुर्व्यसन, भ्रष्टाचार, साइबर अपराध, घरेलु तथा महिला हिंसा, बालअधिकार, युवा पलायन र सामाजिक विभेदजस्ता विषयमा जनचेतनामूलक सन्देश दिने प्रस्तुतिहरू समेटिने आयोजकको भनाइ छ।

आर्थिक संयोजक सुवेष पाठकले पहिलो संस्करणले दर्शकबाट राम्रो साथ र सकारात्मक प्रतिक्रिया पाएकाले दोस्रो संस्करणलाई अझ प्रभावकारी बनाउन करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिनुभयो।