त्रिनगर नाकामा बीआईटी तैनाथ, मानव बेचबिखनदेखि लागुऔषध नियन्त्रणसम्म विशेष निगरानी

भर्खरै

धनगढी, १० साउन/नेपाल–भारत सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र समन्वयात्मक बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालले कैलालीको त्रिनगर सीमा नाकामा ‘बोर्डर इन्टरएक्सन टिम’ (बीआईटी) परिचालन गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिग्विजय सुवेदीले आइतबार त्रिनगर नाकामा बीआईटीको औपचारिक शुभारम्भ गरेका हुन्। सशस्त्र प्रहरी मुख्यालयको निर्देशनअनुसार कार्यक्रम सुरु गरिएको उनले बताए।
बीआईटी कार्यक्रम सुदूरपश्चिम प्रदेशमा पहिलो चरणमा धनगढीस्थित त्रिनगर नाकाबाट सुरु गरिएको हो। यसलाई क्रमशः प्रदेशका अन्य प्रमुख सीमा नाकामा समेत विस्तार गरिने सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार सीमा क्षेत्रमा हुने गतिविधिको प्रभावकारी व्यवस्थापन, स्थानीय बासिन्दासँग समन्वय, सूचना आदानप्रदान तथा सीमापार हुन सक्ने विभिन्न चुनौतीको समयमै पहिचान र नियन्त्रण गर्ने उद्देश्यले विशेष तालिम प्राप्त प्रहरी कर्मचारीलाई बीआईटीमार्फत परिचालन गरिएको हो।
बीआईटी परिचालनसँगै स्थानीय समुदायसँगको सम्बन्ध थप सुदृढ हुने, सीमा व्यवस्थापन आधुनिक र जनमैत्री बन्ने तथा सीमा सुरक्षा अझ प्रभावकारी हुने विश्वास सशस्त्र प्रहरीले लिएको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार १० साउनदेखि झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगञ्ज, रुपन्देहीको डण्डा, बाँकेको जमुनाह तथा सुदूरपश्चिमका त्रिनगर र गड्डाचौकीसहित प्रमुख सीमा नाकाहरूमा सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा प्रत्येक स्थानमा १४ सदस्यीय टोली परिचालन गरिएको छ।
उक्त टोली सीमा सुरक्षा गुल्ममा तैनाथ रहनेछ भने प्रत्येक सिफ्टमा एक जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सादा पोसाक (सफारी सुट)मा सीमा क्षेत्रमा खटिनेछन्।
बीआईटीले विशेषगरी सीमा आवतजावत गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सहजीकरण गर्ने, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, प्रतिबन्धित लागुऔषध र वन्यजन्तुजन्य वस्तुको अवैध कारोबार रोक्न निगरानी बढाउने तथा आवश्यक चेकजाँचमा कडाइ गर्ने सशस्त्र प्रहरीले जनाएको छ।
यस्तै, सीमा क्षेत्रमा खटिएका अन्य सुरक्षा निकाय र सरोकारवाला संस्थासँग समन्वय गरी आपराधिक गतिविधिको रोकथाम तथा नियन्त्रणमा समेत टोलीले सक्रिय भूमिका खेल्ने विश्वास सशस्त्र प्रहरीको छ।
यसैबीच, सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले रुपन्देहीको डण्डास्थित सीमा सुरक्षा गुल्ममा पुगेर बीआईटी टोलीलाई आवश्यक निर्देशन दिँदै कार्यक्रमको शुभारम्भ गरेका छन्। देशभरका अन्य प्रमुख सीमा नाकामा पनि सम्बन्धित बाहिनीपतिहरूले एकैसाथ बीआईटी परिचालनको शुभारम्भ गरेका छन्।