एक लाख रुपैयाँ जुटाउन नसक्दा सरकारी अस्पतालको भर, अन्ततः उपचार नपाउँदै वृद्धको मृत्यु

भर्खरै

धनगढी, १ साउन/धनगढी उपमहानगरपालिका–१९, फुलबारीका ७२ वर्षीय विष्णुप्रसाद थारुको उपचारका क्रममा मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशकै प्रमुख रेफरल अस्पताल सेती प्रादेशिक अस्पतालको सेवा क्षमता र स्वास्थ्य पूर्वाधारमाथि फेरि प्रश्न उठेको छ।
दमको समस्या बल्झिएपछि उपचारका लागि अस्पताल पुर्‍याइएका थारुको बिहीबार बिहान मृत्यु भयो। परिवारले आइसियु (सघन उपचार कक्ष) शय्या नपाउँदा समयमै उपचार हुन नसकेको आरोप लगाएको छ भने अस्पतालले बिरामी अन्तिम अवस्थामा ल्याइएको र त्यसबेला सबै आइसियु शय्या भरिएका कारण आकस्मिक कक्षमै उपचार गरिएको जनाएको छ।
प्रदेशकै सबैभन्दा ठूलो अस्पताल, तर आइसियु १५ शय्या मात्रै
सेती प्रादेशिक अस्पताल सुदूरपश्चिमका नौवटै जिल्लाबाट आउने जटिल बिरामीको प्रमुख उपचार केन्द्र हो। सडक दुर्घटना, मुटु रोग, श्वासप्रश्वास, मिर्गौला, सुत्केरी तथा अन्य जटिल अवस्थाका बिरामी यही अस्पतालमा रेफर हुने गर्छन्।
यति ठूलो जिम्मेवारी बोकेको अस्पतालमा भने आइसियु शय्या जम्मा १५ वटा मात्रै छन्। दैनिक आउने गम्भीर बिरामीको सङ्ख्याको तुलनामा यो संख्या निकै कम भएकाले अधिकांश समय सबै शय्या भरिने अवस्था रहने गरेको अस्पताल स्रोत बताउँछ। यही कारण गम्भीर अवस्थाका बिरामीले पालो कुर्नुपर्ने वा अन्यत्र रेफर हुनुपर्ने अवस्था बारम्बार दोहोरिने गरेको छ।
५० शय्याको स्वीकृति, सञ्चालन भने ३०० शय्यामा
सेती प्रादेशिक अस्पताल सरकारी अभिलेखमा अझै ५० शय्याको अस्पतालका रूपमा स्वीकृत छ। तर, बिरामीको अत्यधिक चापका कारण अस्पतालले करिब ३०० शय्या क्षमतामा सेवा सञ्चालन गरिरहेको छ।
स्वीकृत दरबन्दीअनुसार जनशक्ति, बजेट र स्रोतसाधन नहुँदा अस्पतालले सीमित स्रोतबाट धेरै बिरामीलाई सेवा दिनुपरेको अवस्था छ। चिकित्सक, नर्स, उपकरण र भौतिक पूर्वाधारमा पर्ने अतिरिक्त दबाबले उपचार व्यवस्थापन झन् चुनौतीपूर्ण बन्दै गएको स्वास्थ्यकर्मीहरू बताउँछन्।
परिवारको आरोप : गरिब भएकै कारण उपचार पाएनौं
मृतककी छोरी मनपतिदेवी चौधरीका अनुसार सुरुमा धनगढीकै एक निजी अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यहाँ तत्काल आइसियुमा राख्नुपर्ने र प्रारम्भिक उपचारमै करिब एक लाख रुपैयाँ खर्च लाग्ने जानकारी दिइएपछि आर्थिक अवस्था कमजोर भएकाले उपचार सम्भव भएन।
त्यसपछि सरकारी अस्पतालको आशामा सेती पुगे पनि आइसियु शय्या खाली नभएको भन्दै पर्खन भनिएको उनको भनाइ छ।
उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा गरिबीका कारण समयमै उपचार नपाउँदा बुबाको मृत्यु भएको भन्दै राज्यले विपन्न नागरिकको उपचार सुनिश्चित गर्न नसकेको गुनासो गरेकी छन्।
अस्पतालको भनाइ : अन्तिम अवस्थामा ल्याइयो
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले भने बिरामीलाई निजी अस्पतालबाट राति करिब १२ बजे मात्रै ल्याइएको र त्यसबेला अस्पतालका सबै १५ वटा आइसियु शय्या भरिएका कारण आकस्मिक कक्षमै उपचार गरिएको बताए।
उनका अनुसार आइसियुमा रहेका बिरामीहरू पनि अत्यन्त जटिल अवस्थाका भएकाले तत्काल शय्या खाली गर्ने अवस्था थिएन।