तीन सञ्चारमाध्यमको कार्यालयअगाडि रहस्यमय रूपमा पार्क गरिएका तीन गाडी हटाइयो, स्वामित्व खुल्यो

भर्खरै

धनगढी, २९ असार/काठमाडौंका तीन प्रमुख सञ्चारमाध्यम कान्तिपुर पब्लिकेशन, अनलाइनखबर र हिमालय टेलिभिजन—का कार्यालयअगाडि सोमबार बिहान बाटो नै अवरुद्ध हुने गरी पार्क गरिएका तीन वटा गाडीमध्ये दुई वटा निजी व्यक्तिका नाममा र एउटा सानिमा बैंकबाट ऋण लिएर एसटी मोटर्सले खरिद गरेको खुलेको छ।
ती गाडीका कारण सम्बन्धित सञ्चारगृहका पत्रकार तथा कर्मचारीलाई आफ्ना सवारीसाधन कार्यालय परिसरभित्र प्रवेश गराउनसमेत कठिनाइ भएको थियो।
यातायात व्यवस्था विभागको विवरणअनुसार, कान्तिपुर पब्लिकेशनअगाडि पार्क गरिएको बा. प्रदेश–०१–०३४ च ८४८० नम्बरको गाडी सानिमा बैंकबाट ऋण लिएर एसटी मोटर्सले पाँच दिनअघि मात्रै नामसारी गरेको देखिएको छ।
यस्तै, अनलाइनखबरको कार्यालयअगाडि रहेको बा.१२ च ८५४५ नम्बरको गाडी सुनिल पौडेलको नाममा दर्ता रहेको विभाग स्रोतले जनाएको छ। हिमालय टेलिभिजनअगाडि पार्क गरिएको बा.१० च १२५५ नम्बरको गाडी पनि एक निजी व्यक्तिको नाममा दर्ता रहेको खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, ती तीनै गाडी कसले, किन र कुन उद्देश्यले सञ्चारमाध्यमका कार्यालयअगाडि राख्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
यसैबीच, नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले क्रेनको सहायताबाट तीनै स्थानबाट गाडी हटाएको जनाएको छ। प्रहरीले घटनाको उद्देश्य र संलग्न व्यक्तिबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।