धनगढी, २४ असार/सुदूरपश्चिम प्रदेशमा आज पनि मनसुन सक्रिय रहने भएकाले प्रदेशका विभिन्न स्थानमा चट्याङसहित वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिण र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास रहेकाले सुदूरपश्चिमसहित देशका अधिकांश क्षेत्रमा बदली भएको छ। हाल सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।
आज राति पनि प्रदेशका पहाडी भूभागका केही स्थान तथा तराईका केही क्षेत्रमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।



