वीरेन्द्रनगर/नगर प्रहरीको दुर्व्यवहारको चौतर्फी आलोचना भएपछि वीरेन्द्रनगर नगरपालिकाले काफल बेच्ने महिलालाई १० हजार रुपैयाँ सहयोग गरेको छ ।
वीरेन्द्रनगरमा कालीकोटकी धमिला चौलागाईंको काफलको डालो नगर प्रहरीले सडकमा घोप्ट्याइदिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाको ध्यानाकर्षण भएको हो ।

नगरपालिकाले बसपार्क क्षेत्रअगाडि सडकमा काफल बेचिरहेकी महिलामाथि नगर प्रहरीबाट भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै घटनामा संलग्न नगर प्रहरीलाई तत्काल कारबाही गर्ने निर्णय गरिएको जानकारी दिएको छ ।
नगर प्रमुख मोहनमाया ढकाल ले पीडित चौलागाईंलाई राहतस्वरूप १० हजार रुपैयाँ प्रदान गरिएको बताइन् । साथै जनप्रतिनिधि र कर्मचारीहरूले करिब १ हजार ५ सय रुपैयाँ बराबरको काफल किनेर सहयोग गरेका छन् ।
मेयर ढकालका अनुसार घटना नियतवश नभएको दाबी गर्दै वीरेन्द्रनगर क्षेत्रमा फुटपाथ व्यवस्थापन अभियान सञ्चालन भइरहेको छ ।
नगरपालिकाका सूचना अधिकारी टंकप्रकाश लामिछाने ले दुर्घटनाको जोखिम न्यूनीकरणका लागि फुटपाथ व्यवस्थापनको काम भइरहेको बताए ।



