जारी १९ औं संस्करण सुदूरपश्चिम महोत्सव : कृषि प्रदर्शनीमा सहभागी १५५ किसान सम्मानित

भर्खरै

धनगढी, १ पुस/धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा आयोजित कृषि प्रदर्शनीमा सहभागी १५५ कृषकलाई सम्मानित गरिएको छ । कैलाली उद्योग वाणिज्य संघका सदस्य तथा कृषि संयोजक शुभ ठाकुरको संयोजकत्वमा महोत्सव स्थलमा सञ्चालन गरिएको कृषि प्रदर्शनीमा किसानहरूले ३८९ प्रकारका बाली तथा विविध कृषि वस्तुहरू प्रदर्शन गरेका थिए। प्रदर्शनीमार्फत परम्परागतदेखि आधुनिक कृषि उत्पादनसम्मलाई एउटै थलोमा प्रस्तुत गरिएको थियो।
प्रदर्शनीअन्तर्गत अन्नबाली, तरकारी, फलफूल, मसला, दलहनलगायत १६ विधामा उत्कृष्ट किसान तथा उत्पादन छनोट गरी पुरस्कार वितरण गरिएको हो। पुरस्कारतर्फ प्रथम हुने १५ जना किसानलाई जनही ५ हजार रुपैयाँ, द्वितीय हुने १५ जनालाई जनही ३ हजार रुपैयाँ, तृतीय हुने १४ जनालाई जनही २ हजार रुपैयाँ प्रदान गरिएको छ। त्यसैगरी सान्त्वना चौथो स्थान प्राप्त ११ जना र सान्त्वना पाँचौँ स्थान प्राप्त १० जना किसानलाई जनही १–१ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको छ।
कृषि ज्ञान केन्द्र धनगढीको सहयोगमा सञ्चालित प्रदर्शनीमा सहभागी सबै किसानलाई पानी हाल्ने हजारीसमेत वितरण गरिएको कैलाली उद्योग वाणिज्य संघले जानकारी दिएको छ। आयोजकका अनुसार प्रदर्शनीले किसानलाई हौसला प्रदान गर्नुका साथै व्यावसायिक कृषितर्फ आकर्षित गर्ने उद्देश्य बोकेको छ।
प्रदर्शनी अवलोकनका लागि विभिन्न विद्यालयका विद्यार्थी, कृषक, कृषि विज्ञ तथा सर्वसाधारण गरी हजारौँ दर्शकको उपस्थिति रहेको थियो। ‘पर्यटन, संस्कृति, उद्योग र व्यापार ः समृद्ध सुदूरपश्चिमको आधार’ भन्ने नारासहित सञ्चालन भइरहेको १९ औँ सुदूरपश्चिम महोत्सव–२०८२ मा विविध कार्यक्रमहरु सञ्चालन भैरहेका छन । मंसिर २२ गतेदेखि सुरु भएको महोत्सव पुष २ गतेसम्म चल्नेछ ।