पाँचौं भजहर कप : उपाधि गौरीगंगा–११ स्पोर्टस क्लवलाई, पायो नगद एक लाख

भर्खरै

धनगढी, २५ वैशाख/कैलालीमा जारी पाँचौं भजहर कप फुटवल प्रतियोगिताको उपाधि गौरीगंगा–११ स्पोर्टस क्लवले जितेको छ । जिल्लाको कैलारी गाउँपालिका–८, लोहरपुरमा जारी निसर्ग हस्पिटल पाचौं भजहर कप फुटवल प्रतियोगिताको उपाधि गौरीगंगा–११ स्पोर्टस क्लवले जितेको हो । लोहरपुर खेल मैदानमा भएको फाइनल खेलमा आयोजक श्री जनहित क्लव ‘वि’ लाई हराउँदै गौरीगंगा–११ स्पोर्टस च्याम्पीयन भएको हो ।


थारुहरुको पर्व भजहरको अवसरमा हरेक वर्ष हुदैं आएको भजहर कपको पाचौं संस्करणको फाइनल खेलमा गौरीगंगाले आयोजक श्री जनहित क्लव ‘वि’ लाइ २–० ले हराएको हो । विजेता भएसँगै गौरीगंगाले नगद एक लाख सहित ट्रफी पाएको छ । उप–विजेता बनेको आयोजक श्री जनहित क्लव ‘वि’ ले नगद ५० हजार सहित ट्रफी प्राप्त गरेको छ ।


प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक समारोहका बिच पुरस्कार वितरण गरिएको छ । सुदूरपश्चिम चिकित्सक संघका निवर्तमान अध्यक्ष तथा वरिष्ठ बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिएको आयोजक श्री जनहित युवा क्लवका अध्यक्ष मणिराम चौधरीले बताए ।