धनगढी, २५ वैशाख/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सम्बन्ध प्रगाढ बनाउनु पर्नेमा जोड दिनुभएको छ । प्रदेश तथा स्थानीय तहबीच अन्तरसम्बन्ध सुदृढीकरण सम्बन्धी अन्तरक्रिया एवं नीति तथा बजेट सम्बन्धी छलफलमा मुख्यमन्त्री शाहले सो कुरा बताउनु भएको हो ।
तीन तहको सरकारले एक अर्काको अस्तित्व स्विकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताउँदै मुख्यमन्त्री शाहले एक अर्काको अस्तित्व स्विकार्ने वातावरण नहुँदा अवस्था जटिल वन्दै गएको जिकिर गर्नुभयो ।
‘बजेट निर्माणमा सधैँ हामीले त्रुटी गरिरहने र जनताले सधैँ गुनासो गरिरहने परिपाटीलाई पटक–पटक दोहो–याउने हो भने संघीय संरचनामा हामी उभिएको व्यर्थ हुनेछ’ मुख्यमन्त्री शाहले भन्नुभयो, ‘सही रुपमा परिचालन हुने हिसाबले बजेट निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।’

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन रानाले कार्यसूची प्रस्तुती सहित स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा विभागिय मन्त्रीहरु, विषयगत समिति सभापतिहरु, प्रदेशसभा सदस्यहरु, मुख्यसचिव, विभागिय सचिवहरु र सुदूरपश्चिमका सबै पालिका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम प्रादेशिक इकाइ धनगढीले आयोजना गरेको कार्यक्रममा आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम र वजेटका बारेमा पालिकास्तरबाट सुझाव संकलन गरिएको थियो ।



