धनगढी, २५ वैशाख/नेपाल रेडक्रस सोसाइटी कैलालीले विभिन्न कार्यक्रम गरेर विश्व रेडक्रस दिवस मनाएको छ । धनगढीस्थित नेपाल रेडक्रस सोसाइटी परिसरमा रहेको हेनरी ड्युनाको सालिकमा माल्यार्पण गरिएको छ । कार्यक्रम रेडक्रस कैलालीका सभापति लोकराज जोशीको प्रमुख आतिथ्यमा मनाइएको हो । कार्यक्रममा रेडक्रसका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
विश्व रेडक्रस दिवसकै अवसर पारेर धनगढी मै रहेको दृष्टि फाउन्डेसनलाई खाद्य तथा गैर खाद्य सामाग्री समेत हस्तान्तरण गरिएको छ । रेडक्रस कैलालीका सभापति लोकराज जोशीले फाउन्डेसनलाई २५ किलो दाल, १ पेटी खानेतेल, १० प्याकेट नुनलगायत लुगाधुने र नुहाउने साबुन, सर्फ हस्तान्तरण गर्नुभयो । यस्तै, कम्बल १० पिस, बाल्टिन र जग समेत हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी कैलालीका शाखा बिकास अधिकृत नरेन्द्र भट्टले जानकारी दिए ।

रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्म जयन्तीका साथै प्राकृतिक प्रकोप, युद्ध, चिकित्सा सङ्कट एवं अन्य विपत्तिहरूको सामना गर्दै समाजसेवामा करुणा, निःस्वार्थता र एकताबद्ध भएर अरूको सहयोगमा आफ्नो जीवन समर्पण गर्ने विश्वव्यापी रेडक्रस र रेडक्रिसेन्ट संस्थाहरूको सिद्धान्त र कामका बारेमा चेतना फैलाउनेहरूलाई सम्मान गरेर यो दिवस मनाउने प्रचलन छ ।
रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूले मानवीय प्रयासको लागि सम्मान गर्न हरेक वर्ष मे ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउने प्रचलन छ । नोबेल शान्ति पुरस्कारबाट सम्मानित रेडक्रसको अन्तरराष्ट्रिय समितिका संस्थापक हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक बर्ष विभिन्न कार्यक्रम गरि दिवसकै रुपमा मनाउने गरिएको छ ।



