धनगढी, १२ चैत/भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा हत्या गरिएका ओमप्रकाश राईको हत्या आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका–६ घर भएका ५७ वर्षीय हिमाल बुढामगर छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले उनलाई पक्राउ गरेको हो ।
भक्तपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) तथा प्रवक्ता ढुण्डिराज नेउपानले पनि हत्या आरोपमा एक जनालाई पक्राउ गरिएको बताए । ‘एक जनालाई पक्राउ गरेका छौं । पक्राउ परेकालाई आजै सार्वजनिक गर्ने तयारी गरेका छौं’ उनले भने । १०० रुपैयाँको विवादमा ओमप्रकाशको हत्या गरेको हिमालले बताएको एक अनुसन्धान अधिकृतले बताए । ‘१०० रुपैयाँ ओमप्रकाशले खोसेर लगेको र त्यही विवादमा ढुंगाले हानेर हत्या गरेको हुँ’ हिमालको भनाइलाई उद्धत गर्दै एक अनुसन्धान अधिकृतले भने ।



