अछाममा करेन्ट लागेर जलेको अवस्थामा किशोरीको शव फेला

भर्खरै

अछाम, १२ चैत/अछाममा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । बाख्रा चराउने क्रममा करेन्ट लाग्दा बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको चन्डालीकी १८ वर्षीया सुनिता कडायतको मृत्यु भएको हो । बाख्रा चराएर बेलुकी घर फर्कने क्रममा बिजुलीको तार चुँडिएर फलामको खम्बामा विद्युत प्रवाह भएर करेन्ट लागेर घटनास्थलमै कडायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिए । जलेको अवस्थामा उनको लास फेला परेको प्रहरीले जनाएको छ । घरबाट करिब आठ सय मिटर टाढा रहेको खरबारीमा रहेको बिजुलीको पोलमा करेन्ट लागेर सोमवार बेलुका करिब ७ बजेतिर जलेको अवस्थामा कडायतको शव फेला परेको बताइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ।