धनगढी, ११ फागुन/नेपालमा भएका क्षयरोगका बिरामीमध्ये ४० प्रतिशत बिरामी उपचारको दायरा बाहिर रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको अनुमान छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ४० हजार ७७६ जना क्षयरोगका बिरामी उपचाररत छन् । नेपालमा वार्षिक ६८ हजार क्षयरोगका बिरामी हुने गरेको केन्द्रको तथ्याङ्क छ । उपचारको दायरामा नआउने र लुकेर बस्ने बिरामीको खोजी गर्न केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गरेको केन्द्रकी सूचना अधिकारी तथा नर्सिङ अधिकृत थुमा पुनले बताइन् । यसमध्ये क्षयरोगी बिरामीमा पुरुषको संख्या ६१ प्रतिशत तथा महिलाको संख्या ३९ प्रतिशत छ ।
क्षयरोगका लागि एक अर्ब १५ करोड २० लाख बजेट छुट्ट्याए पनि हाल केन्द्रसँग करिब ९० करोडमात्रै छ । यस्तै, क्षयरोग उपचारमा देशभरका बिरामीको समान पहुँच नहुनु, क्षयरोग उपचार र व्यवस्थापनमा निजी क्षेत्रको अर्थपूर्ण सहभागिता नहुनु लगायत चुनौती रहेको पुनले बताइन् ।
स्वास्थ्य क्षेत्रभित्र र बाहिर रणनीतिक साझेदारहरूबिच सीमित संलग्नता लगायत चुनौती पाइएको छ । नेपालमा क्षयरोगको उपचार निःशुल्क गरिए पनि स्वास्थ्य संस्थासम्म पुग्नका लागि यातायात खर्च आवश्यक पर्ने भएकाले कतिपयले औषधि उपचारमा लापरबाही गरेको विज्ञ बताउँछन् । यो सरुवा रोग भएकाले उपचारविना घरमा बस्दा परिवारका अन्य सदस्यलाई सर्ने सम्भावना बढ्ने छाती रोग विशेषज्ञ डा. दीर्घसिंह बम बताउँछन् । सरकारले क्षयरोग लागेका बिरामीलाई पूरा मात्रामा औषधिहरू निःशुल्क वितरण गर्छ । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी यी औषधि नियमित रूपमा बिचमा नछुटाई ६ देखि ८ महिनासम्म सेवन गरेमा क्षयरोग पूर्ण रूपमा निको हुने डा. बमले सुनाए । औषधि खाँदै गर्दा बिचमा छोडेमा जटिल समस्या आउन सक्ने उनको भनाइ छ ।



