सुदूरपश्चिमका चार अस्पताल शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका शिक्षण अस्पताल

भर्खरै

धनगढी, १५ भदौ/सुदूरपश्चिम प्रदेशका चार प्रादेशिक अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने समझदारी भएको छ। यसका लागि प्रदेश सरकार र विश्वविद्यालयबीच २० वर्षे सम्झौता भएको हो।
समझदारीअनुसार सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र लम्कीचुहा प्रादेशिक अस्पताल विश्वविद्यालयका शिक्षण अस्पतालका रूपमा प्रयोग हुनेछन्।
सामाजिक विकास मन्त्रालय र विश्वविद्यालयबीच भएको समझदारीले एमबीबीएसलगायत स्नातक, स्नातकोत्तर, डीएम/एमसीएच तथा पीएचडी तहका स्वास्थ्य विज्ञानसम्बन्धी कार्यक्रम सञ्चालनमा सहकार्य गर्ने व्यवस्था गरेको छ।
सम्झौताअनुसार अस्पतालमा कार्यरत योग्य विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विश्वविद्यालयको नियमअनुसार शिक्षकको पदनाम दिन सकिनेछ। साथै क्लिनिकल शिक्षा, अनुसन्धान, फ्याकल्टी डेभलपमेन्ट तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा समेत सहकार्य गरिनेछ। मन्त्रालयका निमित्त प्रदेश सचिव डा. नीरज अर्याल र विश्वविद्यालयका रजिष्ट्रार डा. भीमबहादुर चन्दले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापाले समझदारीले सुदूरपश्चिममै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन, चिकित्सा शिक्षा विस्तार र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने बताइन्।