धनगढी, १७ असार/यही असार १९ गते कैलालीको धनगढीमा हुने ‘सातौँ एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’को थप दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले बुधबार वर्ष खेलाडी पुरुष र महिलाको मनोनयन सार्वजनिक गरेको हो । छनोट समितिका अनुसार वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका दुई खेलाडीसहित भारोत्तोलनका एक खेलाडी तथा महिलातर्फ दृष्टिविहीन क्रिकेट, कबड्डी र फुटबलका खेलाडी मनोनयनमा परेका छन् ।
पुरुषतर्फ टी–२० राष्ट्रिय क्रिकेट टोलीका कप्तान दिपेन्द्रसिंह ऐरी, भारोत्तोलक अशोक भण्डारी र राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर हेमन्त धामी मनोनयनमा पर्नुभएको छ ।
यस्तै महिलातर्फ दृष्टिविहीन क्रिकेटकी पुनम चौधरी, कबड्डीकी मानमती बिष्ट र फुटबलकी मिना देउवा मनोनयनमा पर्नुभएको छ । वार्डका लागि यसअघि नै वर्ष प्रशिक्षक, वर्ष युवा खेलाडी, सुदूरपश्चिम आइकन पुरुष र महिलाको मनोनयन सार्वजनिक भइसकेको छ ।
छनोट समितिका सदस्य नवराज पनेरुका अनुसार वर्ष प्रशिक्षकको लागि क्रिकेटका धिरेन्द्र चन्द, कबड्डीका विष्णुदत्त भट्ट र भारोत्तोलनका जीवन गौतम मनोनयनमा पर्नुभएको छ ।
‘वर्ष युवा खेलाडी’ विधामा एथलेटिक्सका विरेन्द्र नाथ, कबड्डीका सुशील चुनारा र एथलेटिक्सकी संगीता विक मनोनयनमा हुनुहुन्छ । यस्तै ‘सुदूरपश्चिम आइकन पुरुष’ विधामा क्रिकेटका नारायण जोशी, भारोत्तोलनका अशोक भण्डारी र सुटिङका सुनिल चन्द मनोनयनमा रहनुभएको छ ।
‘सुदूरपश्चिम आइकन महिला’ विधामा कबड्डीकी दिपा देउवा, एथलेटिक्सकी पूजा साउँद र तेक्वान्दोकी दिपा जैशी मनोनयनमा हुनुहुन्छ । अवार्डको मुख्य प्रायोजन सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) रहेको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले अवार्ड कार्यक्रमलाई मुख्य प्रवर्द्धकका रूपमा साथ दिने भएको छ ।



