विद्यालय पुगेकी ६ वर्षीया बालिका मृत फेला, हत्या वा दुर्घटना ? अनुसन्धानमा प्रहरी

भर्खरै

धनगढी, १७ असार/कैलालीको लम्कीचुहा नगरपालिका–२ स्थित विद्यालय अध्ययनका लागि पुगेकी ६ वर्षीया बालिका मृत अवस्थामा फेला परेपछि घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ।
लम्कीचुहा नगरपालिका–४ अम्मरपुर निवासी विकास कामीकी छोरी मनिषा बिक मंगलबार बिहान करिब ७ बजे लम्कीचुहा–२ मोतिपुरस्थित जनचेतना आधारभूत विद्यालयको शिशु कक्षामा अध्ययनका लागि पुगेकी थिइन्। परिवारका सदस्यले विद्यालयमा छोडेर फर्किएपछि उनी रहस्यमय रूपमा सम्पर्कविहीन भएकी थिइन्।
विद्यालयबाटै बालिका हराएको थाहा पाएपछि परिवारले तत्काल इलाका प्रहरी कार्यालय लम्कीमा जानकारी गराएको थियो। सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक जयबहादुर चन्दको नेतृत्वमा सात सदस्यीय टोली खोजीमा परिचालन गरिएको थियो। साँझसम्म पनि बालिकाको अवस्था पत्ता नलागेपछि प्रहरी निरीक्षक कबिराज रोकायाको नेतृत्वमा थप पाँच सदस्यीय टोली परिचालन गरी खोजीलाई तीव्र बनाइएको थियो।
लगातारको खोजीपछि बुधबार बिहान लम्कीचुहा नगरपालिका–५ चौरीस्थित रोरा खोलाको किनारमा बालिका मनिषा बिक मृत अवस्थामा फेला परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार घटनाको कारण खुल्न बाँकी रहेको छ। मृत्युको वास्तविक कारण पत्ता लगाउन शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट आवश्यक प्रमाण संकलन गर्नुका साथै विद्यालय, परिवार र स्थानीयसँग सोधपुछ गरिरहेको छ। बालिकाको मृत्यु दुर्घटना, हत्या वा अन्य कुनै कारणले भएको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
घटनापछि स्थानीयवासी शोकमा डुबेका छन्। विद्यालय पुगेकी बालिका केही घण्टामै मृत अवस्थामा फेला परेको घटनाले सुरक्षा व्यवस्था, विद्यालयको निगरानी र बालबालिकाको संरक्षणबारे गम्भीर प्रश्न उठाएको छ। प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको जनाएको छ ।