चार महिनापछि बर्डफ्लु नियन्त्रणउन्मुख, साउन १ यता देशभर नयाँ सङ्क्रमण शून्य

भर्खरै

धनगढी, ९ साउन/चार महिनादेखि पोल्ट्री क्षेत्रमा ठूलो क्षति पुर्‍याएको बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण अहिले नियन्त्रणउन्मुख बनेको छ। साउन १ गतेयता देशका कुनै पनि स्थानमा नयाँ संक्रमण पुष्टि नभएको पशुसेवा विभागले जनाएको छ।
विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार विभिन्न जिल्लाबाट आउने शंकास्पद नमुनाको परीक्षण जारी रहे पनि हालसम्म सबैको नतिजा नकारात्मक आएको छ। यसले संक्रमण नियन्त्रणमा आएको स्पष्ट संकेत दिएको उहाँको भनाइ छ।
रोग पुनः फैलिन नदिन विभागले निगरानी, प्रयोगशाला परीक्षण र पोल्ट्री फार्ममा जैविक सुरक्षा (बायो–सिक्युरिटी) मापदण्डको कडाइका साथ कार्यान्वयन गरिरहेको जनाएको छ। यद्यपि जोखिम पूर्ण रूपमा समाप्त नभएकाले किसानलाई सावधानी अपनाउन र शंकास्पद लक्षण देखिए तत्काल पशुसेवा कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ।
यस वर्ष बर्डफ्लु पहिलो पटक २०८२ चैत ४ गते मोरङमा पुष्टि भएको थियो। त्यसपछि संक्रमण ११ जिल्लासम्म फैलिएको थियो। महामारीका कारण लेयर्स, ब्रोइलर, प्यारेन्ट स्टक, स्थानीय कुखुरा, हाँस, टर्की र कालिजसमेत प्रभावित भएका थिए।
संक्रमण नियन्त्रणका क्रममा देशभर ८ लाख ३५ हजार ५६३ पन्छी, ११ लाख ६५ हजार ६६३ अण्डा तथा २ लाख ४५ हजार ३५ किलोग्राम दाना नष्ट गरिएको विभागले जनाएको छ।
प्रभावित किसानलाई राहतस्वरूप सरकारले ५२ करोड रुपैयाँ विनियोजन गरेकोमा हालसम्म १०४ जना किसान तथा पोल्ट्री फार्मलाई ५० करोड ७१ लाख १५ हजार रुपैयाँ क्षतिपूर्ति वितरण गरिसकेको जनाएको छ।