धनगढी/सुदूरपश्चिममा पहिलोपटक. रोयल इन्फिल्ड राइडरहरूको भव्य ‘महाराइड’ सम्पन्न भएको छ । धनगढीदेखि गोदावरीसम्म भएको यो राइडले सडक मात्रै होइन… पर्यटन प्रवद्र्धनको सन्देश पनि गुञ्जायमान बनायो ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित धनगढीको चटकपुरबाट सुरु भएको महाराइडलाई नेपाल रोयल इन्फिल्डका आधिकारिक बिक्रेता अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेल र भुमी अटो हवका सञ्चालक डिल्लीराज उपाध्यायले झण्डा देखाएर बिदाइ गरेका थिए ।

एक सयभन्दा बढी रोयल इन्फिल्ड प्रयोगकर्ताको सहभागितामा धनगढी बजारदेखि गोदावरीस्थित रमणीय सालिनी बाटिकासम्म पुगेको महाराइडले सहरका सडकलाई उत्साहमय बनाएको थियो ।
महाराइड केवल मनोरञ्जनमा सीमित रहेन । भुमी अटो हव प्रा.लि.ले अत्तरियास्थित महिला तथा बालबालिका सेभ हाउसलाई स्टेशनरी सहयोग प्रदान गरेको थियो ।

यस्तै, सहभागी राइडरहरूले व्यक्तिगत रकम संकलन गरेर १८ हजार ३५० रुपैयाँ नगद सहयोगसमेत हस्तान्तरण गरेका थिए ।
“राइडरहरूले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले बताउँनुभयो ।
कार्यक्रममा महिला राइडरहरूको पनि उल्लेख्य सहभागिता देखिएको थियो ।

काठमाडौंदेखि मुस्ताङसम्म रोयल इन्फिल्ड बाइक यात्रा गरेकी पुनम चौधरीसहित विभिन्न क्षेत्रका राइडरहरूको उपस्थितिले कार्यक्रमलाई थप विशेष बनाएको आयोजकले जनाएको छ ।

गोदावरीमा खेलकुद तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट हुने सहभागीलाई रोयल इन्फिल्ड हेलमेट पुरस्कार प्रदान गरिएको थियो ।

रोयल इन्फिल्डको गर्जनसँगै सुदूरपश्चिममा पर्यटन, सामाजिक उत्तरदायित्व र राइडिङ संस्कृतिलाई जोड्ने ‘महाराइड’ विशेष बनेको छ ।




