धनगढी/कांग्रेस–एमाले गठबन्धन सातै प्रदेश सरकारमा फेरबदल गर्ने अन्तिम तयारीमा जुटेको छ । बजेट निर्माणको समय चलिरहेकै बेला सत्ता समीकरण फेरबदलको कसरत तीव्र बनेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठकमा प्रदेश सरकार परिवर्तनबारे छलफल भइरहेको जानकारी दिएका छन् भने कांग्रेससँग निर्णायक संवादको तयारी भएको स्रोतले जनाएको छ ।
हाल कांग्रेसले ४ र एमालेले ३ प्रदेश सरकारको नेतृत्व गरिरहेका छन् । नयाँ समीकरणमा पनि कांग्रेसले चार प्रदेशको नेतृत्व दाबी गरेको छ भने नेकपाले सुदूरपश्चिमको मुख्यमन्त्रीसहित तीनदलीय सरकारको प्रस्ताव अघि सारेको छ । एमालेले कांग्रेस र नेकपासँग सहकार्यको ढोका खुला राखेको भए पनि अन्तिम निर्णय कांग्रेससँगको छलफलपछि मात्रै हुने बताइएको छ ।
कोशी र सुदूरपश्चिम प्रदेश सरकारबारे अझै सहमति जुट्न सकेको छैन । यसअघि भएको समझदारीअनुसार दुई प्रदेशमा निरन्तरता दिने सहमति भए पनि कांग्रेस नेतृत्व परिवर्तनपछि नयाँ दाबीहरू उठेका छन् । कांग्रेसले कोशी र कर्णाली प्रदेशमा समेत नेतृत्व दाबी गरिरहेको छ । एमाले स्रोतका अनुसार कांग्रेस सभापति गगनकुमार थापा र एमाले अध्यक्ष ओलीबीचको छलफलपछि प्रदेश सरकार हेरफेरको खाका टुंगिनेछ । कांग्रेस–एमाले सहकार्य तत्काल नटुट्ने संकेत दिँदै तीनदलीय सहकार्यको सम्भावनाबारे पनि छलफल भइरहेको जनाइएको छ ।



