धनगढी/देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव सक्रिय भइरहेका बेला सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै मुलुक नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको असरले सुदूरपश्चिमसहित देशका विभिन्न भू–भागमा मौसम बदली भएको छ ।
महाशाखाले आज राति सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । यस्तै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसममा आउने परिवर्तनका कारण पहाडी तथा हिमाली क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।



