सुकुम्बासी आन्दोलन चर्कियो: भोलि ५ घण्टा पूर्वपश्चिम राजमार्ग बन्द गर्ने घोषणा

भर्खरै

काठमाण्डौं/अखिल नेपाल सुकुम्बासी संघले देशभरका सुकुम्बासीको अधिकार र आवास सुरक्षाको माग गर्दै भोलि वैशाख ३१ गते बिहान ५ बजेदेखि १० बजेसम्म पूर्वपश्चिम राजमार्गमा चक्काजाम गर्ने घोषणा गरेको छ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संघले सुकुम्बासी बस्तीहरूमा भइरहेको “डोजर आतंक” र जबरजस्ती उठिबासको विरोधमा आन्दोलन गर्न बाध्य भएको जनाएको हो। संघका इन्चार्ज नहेन्द्र खड्काले यो आन्दोलन कुनै एक दलको नभई देशभरका भूमिहीन र सुकुम्बासीहरूको साझा संघर्ष भएको बताए।
संघका अनुसार पछिल्ला समय विभिन्न स्थानमा वैकल्पिक व्यवस्थाविना बस्ती हटाउने सरकारी कदमका कारण हजारौँ परिवार प्रभावित भएका छन्। आन्दोलनमार्फत सरकारले सुकुम्बासीको स्थायी बसोबास र जमिन व्यवस्थापनबारे स्पष्ट नीति ल्याउनुपर्ने माग गरिएको छ।
अमर परियारले यातायात व्यवसायी, सुरक्षा निकाय र प्रशासनलाई आन्दोलनप्रति सहयोग गर्न आग्रह गर्दै सुकुम्बासीलाई “होल्डिङ सेन्टर” मा राख्ने नीति अस्वीकार्य भएको बताए। उनले स्थायी समाधानका लागि जग्गा व्यवस्थापन नै एकमात्र विकल्प भएको दाबी गरे।
त्यस्तै दलमर्दन कामीले सरकारले नागरिकको आवास अधिकार र अदालतको आदेशको सम्मान नगरेको आरोप लगाए। उनले बालेन साहमाथि पनि सुकुम्बासीप्रति कठोर नीति लिएको आरोप लगाए।
आन्दोलनलाई अन्य विभिन्न सुकुम्बासी संगठनहरूले पनि समर्थन जनाएका छन्। नेपाली काँग्रेस निकट तथा जसपा निकट संगठनहरूले समेत आफ्ना कार्यकर्तालाई आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन्।
संघका महासचिव प्रकाश खरेलका अनुसार राजमार्ग चक्काजामसँगै काठमाडौंको माइतीघर मण्डलामा संयुक्त प्रदर्शन पनि गरिनेछ। संघले यो आन्दोलनलाई सुकुम्बासी अधिकारको निर्णायक संघर्षको सुरुवातका रूपमा प्रस्तुत गरेको छ।