जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउने तयारी

भर्खरै

धनगढी/कैलालीको चिसापानी क्षेत्रमा निर्माणाधीन जालपादेवी केबलकार आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ। परियोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै कम्पनीले तोकिएकै समयभित्र सञ्चालनमा आउने जनाएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा चन्द्र प्रसाद ढकालले निजी क्षेत्रले निर्माण गर्ने परियोजनाहरू समय, लागत र गुणस्तरमा सफलतापूर्वक सम्पन्न हुँदै आएको उल्लेख गर्दै जालपादेवी केबलकार पनि निर्धारित समयमै सञ्चालनमा आउने बताए।
आईएमई ग्रुपले कैलालीको चिसापानीस्थित लम्कीचुहा नगरपालिका–३ देखि मोहन्याल गाउँपालिका–७ राजकाँडासम्म ३.१ किलोमिटर लामो केबलकार निर्माण गरिरहेको छ। करिब पाँच अर्ब रुपैयाँ लागत रहेको परियोजनामा बटम स्टेशनमा होटल, क्यासिनो, ब्यांक्वेट हललगायत संरचना निर्माण गरिनेछ भने टप स्टेशनमा रिसोर्ट, मन्दिर, स्काई वाक, वाकिङ ट्रेल, रेष्टुरेन्ट तथा बाल उद्यानजस्ता पर्यटकीय पूर्वाधार विकास गरिने कम्पनीले जनाएको छ।
ढकालका अनुसार नेपालमा आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणका लागि पर्यटन क्षेत्र निर्णायक बन्न सक्छ। उनले पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्न सके पर्यटकको बसाइ अवधि बढ्ने, विदेशी मुद्रा आर्जन हुने, रोजगारी सिर्जना हुने र राजस्व वृद्धि हुने बताए।
उनले देशभर केबलकार पर्यटन सर्किट निर्माण गर्ने दीर्घकालीन लक्ष्य रहेको उल्लेख गर्दै जालपादेवी केबलकारलाई त्यस दिशाको महत्वपूर्ण परियोजनाका रूपमा व्याख्या गरे। साथै, स्थानीय समुदाय, राजनीतिक दल र सरकारी निकायबाट प्राप्त सहयोगलाई परियोजनाको सफलताको प्रमुख आधार भएको बताए।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई जोड्ने कर्णाली चिसापानी पुलनजिक रहेको यो परियोजना भारतीय सीमाबाट करिब दुई घण्टाको दूरीमा पर्ने भएकाले भारतीय पर्यटकका लागि समेत आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ।