अब विद्यालयमा दुई दिन बिदा, ४५ दिनको छुट्टी कटौती

भर्खरै

काठमाडौं/शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका लागि नयाँ कार्यतालिका निर्धारण गरेको छ ।
मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्वीकृत पाठ्यक्रमअनुसार कार्य घण्टा मिलाएर पठनपाठन सञ्चालन गर्न सबै शैक्षिक संस्थालाई निर्देशन दिएको हो । मन्त्रिपरिषद्को गएको चैत २२ गतेको निर्णयअनुसार शैक्षिक सत्र–२०८३ देखि विद्यालयमा पनि दुई दिन बिदा लागू गरिएको छ ।
केन्द्रले शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तह र विद्यालयहरूलाई पठाएको परिपत्रअनुसार अब हरेक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय छुट्याउनुपर्नेछ । सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै हिउँदे र बर्से बिदा साबिकको ४५ दिनबाट घटाएर ३० दिन कायम गरिएको छ । शैक्षिक सत्रको अन्तिम १२ दिन अन्तिम परीक्षा र नतिजा प्रकाशनका लागि उपयोग गर्नुपर्ने उल्लेख गरिएको छ ।
विद्यालय शिक्षालाई व्यवहारिक र प्रयोगात्मक बनाउन प्रत्येक शुक्रबार समुदाय तथा परिवारसँग सम्बन्धित क्रियाकलाप, सूचना प्रविधिको प्रयोग, परियोजना कार्य र प्रयोगात्मक अभ्यास सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ । आवश्यकताअनुसार विद्यार्थीलाई प्रस्तुति गर्ने अवसरसमेत प्रदान गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।
परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालनका लागि पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा उपलब्ध ‘परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालन सहजीकरण पुस्तिका, २०८२’ उपयोग गर्न सकिने पनि केन्द्रले जनाएको छ ।