धनकुटा/इच्छाशक्ति र मेहनत भए उमेरले पढाइमा कुनै बाधा नपुर्याउने उदाहरण धनकुटाका ६६ वर्षीय करवीर राईले प्रस्तुत गरेका छन् । धनकुटा–६ निवासी राईले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्दै लामो समयदेखिको आफ्नो शैक्षिक सपना पूरा गरेका हुन् ।
राईको सफलतापछि सामाजिक सञ्जालमा बधाई तथा शुभकामनाको ओइरो लागेको छ । धेरैले उनको प्रयासलाई प्रेरणादायी उदाहरणका रूपमा लिँदै शिक्षा हासिल गर्न उमेरले नछेक्ने सन्देश दिएको बताएका छन् ।
पारिवारिक तथा सामाजिक जिम्मेवारीका बाबजुद पनि उनले अध्ययनलाई निरन्तरता दिएको आफन्तले बताएका छन् । स्थानीयवासीले समेत राईको उपलब्धिलाई धनकुटाकै गौरवको विषयका रूपमा लिएका छन् ।
एसइई उत्तीर्ण भएपछि राईले लामो समयदेखिको अधुरो सपना पूरा भएको अनुभूति भएको प्रतिक्रिया दिएका छन् । उनको सफलताले विशेषगरी विद्यालय छाडेका तथा उमेरका कारण पढाइप्रति निराश बनेकाहरूलाई पुनः शिक्षातर्फ प्रेरित गर्ने विश्वास गरिएको छ ।



