काठमाडौं/यसवर्षको मनसुन अवधिमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण मनसुनजन्य विपद्को जोखिम उच्च रहने प्रक्षेपण गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३’ को मस्यौदाअनुसार देशभर करिब १९ लाख ९७ हजारभन्दा बढी नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको हो ।
प्रतिवेदनअनुसार उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढेको छ भने तराई तथा तल्लो भेगमा बाढी, पहिरो, डुबान, भूक्षय र आकस्मिक बाढीका घटना बढ्न सक्ने सम्भावना औँल्याइएको छ । साथै, तापक्रम वृद्धि र तातो हावाको लहरका कारण विशेषगरी दक्षिणी तराई क्षेत्र बढी प्रभावित हुन सक्ने जनाइएको छ ।
मनसुनजन्य विपद्बाट करिब चार लाख ५७ हजारभन्दा बढी घरधुरी प्रभावित हुन सक्ने अनुमान गरिएको छ । प्रभावितमध्ये ५२ प्रतिशत महिला र ४८ प्रतिशत पुरुष रहने प्रक्षेपण गरिएको छ ।
जोखिममा रहेका समूहमा पाँच वर्षमुनिका करिब एक लाख ६४ हजार बालबालिका, चार लाख १५ हजारभन्दा बढी ज्येष्ठ नागरिक तथा करिब ४८ हजार अपाङ्गता भएका व्यक्ति रहेका छन् । प्रजनन उमेर समूहका महिलाको सङ्ख्या पनि उल्लेख्य रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रदेशगत विश्लेषणअनुसार कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मनसुनजन्य विपद्को जोखिम तुलनात्मक रूपमा बढी देखिएको छ ।
प्राधिकरणका उपसचिव रामबहादुर केसीले पूर्वसूचना प्रणाली सुदृढ बनाउने, सुरक्षित स्थानको पहिचान गर्ने, राहत सामग्री तयारी अवस्थामा राख्ने तथा उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी दिएका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यसवर्ष नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने सम्भावना रहेको छ । विभागले कर्णाली, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही क्षेत्रमा कम वर्षाको सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको जनाएको छ ।
यता, सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भागसहित केही क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुन सक्ने सम्भावना पनि औँल्याइएको छ । साथै, देशभर अधिकतम तथा न्यूनतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना रहेको विभागको निष्कर्ष छ ।



