कञ्चनपुर सीमामा तस्करी बढ्दो, दुई दिनमै २ लाख बढीका अवैध सामान बरामद

भर्खरै

कञ्चनपुर/कञ्चनपुरको दक्षिणी सीमा क्षेत्र बेलौरी र पुनर्वासमा पछिल्लो समय भारतबाट हुने तस्करी बढ्दो देखिएको छ। सरकारले एक सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क कडाइ गरेपछि सीमा क्षेत्रका विभिन्न चोर बाटो प्रयोग गरी अवैध रूपमा सामान नेपाल भित्र्याउने क्रम बढेको हो।
सीमा क्षेत्रमा तस्करी बढिरहेका बेला सशस्त्र प्रहरी बलले निगरानी कडा बनाएको छ। सशस्त्र प्रहरीले दुई दिनमै बेलौरी र पुनर्वासका विभिन्न सीमा इलाकाबाट २ लाख रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद गरेको जनाएको छ।
वैशाख २५ गते पुनर्वास नगरपालिका–९ काठे पुल सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल बिओपि बिचफाँटबाट खटिएको गस्ती टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको २३ हजार ५७० रुपैयाँ बराबरको कस्मेटिक सामग्री बरामद गरेको थियो। उक्त सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
त्यसै दिन बेलौरी नगरपालिका–२ टेडुवा सीमा क्षेत्रमा बिओपि थापाचोकबाट खटिएको टोलीले भारतबाट ल्याइएको ७ हजार रुपैयाँ बराबरको प्रतिबन्धित बोइलर कुखुरा बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको थियो। बरामद गरिएको कुखुरा खाल्डो खनी नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
यस्तै पुनर्वास नगरपालिका–६ ङ गाउँस्थित सीमा क्षेत्रमा सप्रनि दीपेन्द्रबहादुर मल्लको कमान्डमा खटिएको टोलीले १ लाख ४१ हजार ७ सय रुपैयाँ बराबरको मोटरसाइकल, चार थान साइकल र २१७ दर्जन केरा बरामद गरेको छ। ती सामान पनि भन्सार कार्यालय पठाइएको छ।
त्यसैगरी पुनर्वास नगरपालिका–४ घ गाउँस्थित आँपताल क्षेत्रमा सप्रनि प्रेमसिंह बोहराको नेतृत्वमा खटिएको टोलीले ३२ हजार १ सय रुपैयाँ बराबरको ७५ केजी बोइलर कुखुरा र ९६ लिटर पेय पदार्थ (डिउ) बरामद गरेको थियो।
वैशाख २६ गते बेलौरी नगरपालिका–१ फटिया सीमा इलाकामा बिओपि आँपतालबाट खटिएको टोलीले नम्बर प्लेट नखुलेको हिरो कम्पनीको मोटरसाइकलसहित ७० केजी प्रतिबन्धित बोइलर कुखुरा बरामद गरेको जनाएको छ।
त्यस्तै बिओपि थापाचोकले ८ हजार ७५० रुपैयाँ बराबरको २५ केजी बोइलर कुखुरा र १५ हजार रुपैयाँ बराबरको तोरी बरामद गरी भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।