धनगढी, २६ माघ/नेपाल पर्वतारोहण संघ सुदूरपश्चिम प्रदेश समितिको पदस्थापन सम्पन्न भएको छ। धनगढीमा आयोजित एक कार्यक्रमबीच नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदस्थापन गरिएको हो।
संघको अध्यक्षमा किशोर खड्का, उपाध्यक्षमा डोल्मा तामाङ, सचिवमा विक्रम ठकुल्ला र कोषाध्यक्षमा कटक कठायत निर्विरोध निर्वाचित भएका थिए। त्यसैगरी समितिको सदस्यहरूमा सगरमाथा आरोही संगीता रोकाया, विशालसिंह कठायत, मीनराज राना, रमेश के.सी., लोकराज भट्ट र राजेन्द्र विष्ट निर्वाचित भएका छन्।
कटकबहादुर कठायतको अध्यक्षतामा सम्पन्न पदस्थापन कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइराला प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।
कार्यक्रममा पर्यटन व्यवसायी, पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकार, होटेल व्यवसायी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले सुदूरपश्चिम प्रदेशमा पर्वतीय पर्यटन प्रवद्र्धन र साहसिक पर्यटनको विकासका लागि संघले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।



