धनगढी, १८ माघ/नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको बैठकले बैतडी जिल्लाको समग्र, दिगो र समावेशी विकासका लागि साझा प्रतिबद्धता जनाउँदै दोगडाकेदार घोषणापत्र जारी गरेको छ । १७ माघ २०८२ मा सम्पन्न बैठकबाट घोषणापत्र सार्वजनिक गरिएको हो ।
इतिहास, संस्कृति र प्राकृतिक सम्पदाले सम्पन्न देवभूमि बैतडी विकासका धेरै सूचकमा पछाडि परेको यथार्थ स्वीकार गर्दै घोषणापत्रमार्फत राजनीतिक दल, स्थानीय सरकार, सञ्चार क्षेत्र, नागरिक समाज, निजी क्षेत्र र आम नागरिकबीच सहकार्यको आवश्यकता औंल्याइएको छ ।
निर्वाचन आचारसंहिता कडाइका साथ पालना
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अवधिमा प्रदेशभरिका पत्रकार, सञ्चारकर्मी तथा मिडिया हाउसहरूले निर्वाचन तथा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्ने निर्णय गरिएको छ । साथै स्थानीय तहलाई स्थानीय सञ्चारमाध्यम प्रवद्र्धनसम्बन्धी कार्यविधि निर्माण गर्न आग्रह गर्ने उल्लेख छ ।
ठूला राष्ट्रिय आयोजनामा दबाब
घोषणापत्रमा लामो समयदेखि आश्वासनमै सीमित रहेका पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, पश्चिम सेती जलविद्युत आयोजना तथा जुलाघाट मोटरेबल पुल निर्माणलाई प्राथमिकतामा राखी सरकारमाथि दबाब सिर्जना गर्ने निर्णय गरिएको छ । त्यस्तै, दार्चुलाको तिंकरदेखि बैतडी, डडेल्धुरा हुँदै तराईको कञ्चनपुर जोड्ने महाकाली करिडोर निर्माण कार्यलाई तीव्र र प्रभावकारी रूपमा अघि बढाउन सरकारलाई दबाब दिने उल्लेख गरिएको छ ।

धार्मिक र पर्यटकीय सम्पदाको संरक्षण
बैतडी जिल्लाभित्र रहेका पातालभुमेश्वर, ग्वाल्लेक संरक्षित क्षेत्र, सिगास संरक्षित क्षेत्र, त्रिपुरा सुन्दरी, निङ्गलाशैनी, डिलाशैनी, मेलौली, उदयदेव र रौलाकेदार धाम लगायतका धार्मिक तथा पुरातात्त्िवक सम्पदाको संरक्षण र आवश्यक पूर्वाधार विकास गरी पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाइएको छ।
खानी उत्खनन र अभिलेखीकरण
दोगडाकेदार गाउँपालिकामा रहेको फस्फोराइट खानीको उत्खनन तथा सम्भावित सिमेन्ट उद्योग/खानी प्रशोधनका लागि अनुकूल वातावरण सिर्जना गर्न सरकारलाई दबाब दिने निर्णय पनि घोषणापत्रमा समेटिएको छ। यसैगरी सार्वजनिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक तथा पर्यटकीय सम्पदाको लगत संकलन, अभिलेखीकरण र संरक्षण–संवद्र्धनका कार्यक्रम सञ्चालन गर्न पहल गर्ने जनाइएको छ। बैठकमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य तथा प्रदेशका सल्लाहकार, निवर्तमान अध्यक्ष तथा सल्लाहकार, जिल्ला अध्यक्षहरुको उपस्थिति रहेको थियो ।




