धनगढी, १४ माघ/सुदूरपश्चिमका पहाडी–हिमाली जिल्लामा दोस्रो पटक वर्षा र हिमपात सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा यस वर्ष दोस्रो पटक वर्षा र हिमपात भएको छ।
बैतडीका सतबाँझ, रौलाकेदार, सिगास, खोडपे, अनारखोली र ढोल्यामोडलगायत उच्च भेगमा मङ्गलबार साँझदेखि बाक्लो हिमपात भएको हो। वर्षा र हिमपातसँगै गहुँलगायत हिउँदे बाली सप्रिने आशा जागेको छ। लामो समयदेखि पानी नपर्दा प्रभावित बनेका किसानलाई यसले राहत पुग्ने स्थानीय कृषकले बताएका छन्। हिमपातका कारण उच्च भेगमा चिसो अत्यधिक बढेको छ भने कतिपय स्थानमा धाराको पानी जम्नुका साथै हिँडडुलमा कठिनाइ भएको छ।
डडेल्धुरामा पनि पछिल्लो साता दुई पटक हिमपात भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार तीन वर्षपछि डडेल्धुरामा हल्का हिमपात भएको हो। शुक्रबार राति २६ मिलिमिटर वर्षासँगै उच्च पहाडी भेगमा करिब ६ इन्चसम्म हिमपात भएको थियो। मङ्गलबारदेखि पुनः सुरु भएको वर्षासँगै बुधबार बिहानसम्म २४ मिलिमिटर वर्षा भएको र हिमपातको सम्भावना उच्च रहेको जनाइएको छ।
डडेल्धुरामा आजको अधिकतम तापक्रम ८ डिग्री र न्यूनतम ० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। हिउँदे वर्षा र हिमपातले बालीनालीका लागि पर्याप्त आद्र्रता पुगेको कृषिविज्ञहरूले बताएका छन्।



