नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता धनगढीमा सुरु

भर्खरै

धनगढी, ४ माघ/धनगढी नगरस्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, नगरका लागि खेलकुद’ भन्ने नारासहित आजबाट सुरु भएको प्रतियोगिता माघ ८ गतेसम्म हुनेछ । धनगढीस्थित रंगशालामा भइरहेको प्रतियोगितामा २६ सामुदायिक र २० संस्थागत विद्यालय सहभागी रहेका छन् ।
धनगढी उपमहानगरपालिकाले आयोजना गरेको प्रतियोगितामा विभिन्न एथलेटिक्स, सामूहिक तथा व्यक्तिगत खेलहरु समावेश छन् । संस्थागत विद्यालयका ४४७ र सामुदायिक विद्यालयका एक हजार ७३९ गरी दुई हजार १८६ खेलाडी सहभागी छन् ।
प्रतियोगितामा ६ बिधाका ५२ वटा इभेन्ट समावेश छन् । प्रतियोगिताका लागि धनगढी उपमहानगरले आन्तरिकतर्फ ११ लाख रुपैयाँ छुट्याएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्का (रवि), धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला कुमारी राना, वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो । उद्घाटन समारोहमा नगर प्रहरी र विभिन्न विद्यालयका विद्यार्थीहरुले मार्चपास समेत गरेका थिए ।