देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो छ आजको मौसम

भर्खरै

धनगढी, १३ पुस/देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली तथा बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ । देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
आज राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू‍भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–ई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।