
धनगढी, २९ असोज/शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ । गत जेठबाट सफारी बन्द गरिएको कञ्चनपुरस्थित सो निकुञ्जमा सोमबारदेखि जङ्गल सफारी गरिएको हो । मनसुन गएपछि असोज २७ गतेदेखि दुई वटा रुटमा जङ्गल सफारी खुला गरेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए ।
“हाम्रो कार्यालयले अहिलेलाई दुई वटा रुटमा जङ्गल सफारी खोलेको छ,” उनले भने, “मर्मत गर्दै अरू रुटमा पनि चाँडै सफारीको अनुमति दिन्छौँ ।” निकुञ्ज कार्यालयले मझगाउँ–बठनिया ताल–बाबा ताल–दुधिया क्याम्प–सलगौडी ताल–रानी ताल–सिंहपुरसम्म पुगी सोही रुटबाट फिर्ता हुने गरी पहिलो रुट सफारीका लागि अनुमति लिन सक्ने जनाएको छ ।

यस्तै, मझगाउँ–पलियाफाँटा–हात्तीसार चोक–बर्कौला पोस्टसम्म पुगी सोही रुटबाट फिर्ता हुने गरी दोस्रो रुट खोलिएको छ । निकुञ्जमा रहेका अन्य रुट मर्मतको काम भइरहेको बताइएको छ ।
गत आर्थिक वर्षमा १५१ विदेशी र तीन हजार ७२२ आन्तरिक पर्यटकले यो निकुञ्जको भ्रमण गरेका थिए । दसैँदेखि छठपर्वसम्म धेरै जसो विद्यालयले बिदा दिने गरेका कारण बिदाको बेला परिवारसहित यस निकुञ्जमा आन्तरिक पर्यटक घुम्न आउने गरेको जनाइएको छ । बाह्रासिङ्गा अवलोकनका लागि प्रसिद्ध यो निकुञ्जमा विश्वमै दुर्लभ एकसिङे गैँडालगायतका वन्यजन्तु तथा विभिन्न प्रजातिका पन्छी पनि अवलोकन गर्न सकिन्छ ।



