आजबाट सोह्रश्राद्ध सुरु

भर्खरै

धनगढी, २३ भदौ/हिन्दू परम्पराअनुसार आज (सोमबार) देखि पितृपक्ष अर्थात सोह्रश्राद्ध सुरु भएको छ । दिवंगत पितृको सम्झनामा गरिने सोह्र श्राद्ध आजबाट सुरु भएको हो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा छ ।
भाद्र शुक्ल पूर्णिमादेखि असोजको कृष्ण पक्षका १५ दिन औंसीसम्म सोह्र श्राद्ध मनाइने गरिन्छ । सोह्रवटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा सोह्रश्राद्धको नामले परिचित छ । चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ । बडादशैं र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनुका साथै पितृऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता रहिआएको छ । पूर्णिमादेखि असोज कृष्ण पक्षको औंसीसम्म तिथिअनुसार श्राद्ध गरिन्छ। आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्ने परम्परा छ ।