धनगढी, १४ भाद्र/प्रहरीले कैलालीबाट साढे ५ किलो बढी चरेश र खैरो हेरोइनसहित ५ जनालाई पक्राउ गरेको छ । लागू औषध व्युरो शाखा धनगढी, वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले जिल्लाको धनगढी उपमहानगरपालिका–२, त्रिनगर ब्यारेलबाट डोटीको शिखर नगरपालिका–२, घर भइ हाल गोदावरी नगरपालिका–१ बस्ने ३५ वर्षीय बिरबहादर रावलले चलाएको सु.प.प्र. ०४००१ प ०६६५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा निजको साथबाट २ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन बरामद, चुरे गाउँपालिका–३ बस्ने ३२ वर्षीय मोहन मल्ललाई शंक लागि चेकजाँच गर्दा मोबाइलको खोल भित्र लुकाईछिपाई राखेको अवस्थामा ५९० मिलिग्राम खैरो हेरोइन बरामद गरेको कैलाली प्रहरीले जनाएको छ ।
यस्तै धनगढी उपमहानगरपालिका–२, मिलन चोकस्थित बझाङको बुङ्गल नगरपालिका–८ घर भई हाल धनगढी उपमहानगरपालिका–२ स्थित जयराम होटल एण्ड लज रेष्टुरेन्ट संचालक ३२ वर्षीय राम बोहराको होटलमा चेकजाँच गर्दा ५ किलो ६९० ग्राम चरेश बरामद गरिएको कैलाली प्रहरीले जनाएको छ ।
यस्तै, धनगढी उपमहानगरपालिका–१२, जुगेडाबाट जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको संयुक्त प्रहरी टोलीले सुदूरपश्चिम प्रदेश ०१०१३ प २३४५ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने २३ वर्षीय बिजय विक र मोटरसाइकल पछाडी सवार धनगढी उपमहानगरपालिका–७ बस्ने २२ वर्षीय प्रदिप रानालाई चेकजाँच गर्दा उनीहरुको साथबाट ७४० मिलिग्राम खैरो हेरोइन फेलापारी दुबै जनालाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ५ जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी थप अनुसन्धान भईरहेको कैलाली प्रहरीले जनाएको छ ।



