धनगढी, २५ साउन/कैदीबन्दी बिच झडप भएपछि अस्तव्यस्त रहेको धनगढीस्थित कैलाली कारागारमा कैदीबन्दीको गणना सुरु भएको छ । कैदीबन्दीको संख्या एकिन गर्न गणना थालिएको छ । शनिबारमात्रै कारागारको जिम्मेवारी सम्हालेका जेलर जालन्धर भुसालले प्रत्येक कैदीलाई बोलाएर संख्या गणना गर्न थालेका हुन् । कारागार स्रोतका अनुसार, अहिले धमाधम कैदीबन्दीको संख्या एकिन गर्ने काम भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार प्रत्येकको अनुहार हेर्दै जेलरको नेतृत्वमा कैदीबन्दीको गणना भइरहेको हो । कारागारमा हिंसात्मक झडप भएपछि शुक्रबार राति एक जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका छन् ।
घटना भएको ३६ घण्टा बित्दा समेत स्थानीय प्रशासनले स्थिति साम्य गर्न सकेको छैन । सो क्रममा आइतबार दिउँसो २ बजेपछि कैदीबन्दीको संख्या एकिन गर्नका लागि प्रशासन सक्रिय भएको हो । भित्रको स्थिति तनावग्रस्त भएपछि कैदीबन्दीका आफन्तहरू कारागार परिसरमा पुगेर सोधखोज गरिरहेका छन् ।
कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएकाले प्रहरी समेत भित्र जान पाएका छैनन् । स्रोतका अनुसार, गृह मन्त्रालय वा कारागार विभागबाटै प्रतिनिधिहरू आएपछि मात्रै थुनुवा कक्ष खोल्ने भनेर उनीहरूले बताइरहेका छन् ।



