धनगढी, २० साउन/सुदूरपश्चिम प्रदेश सरकारले २०८२ सालको अट्वारी पर्वको सार्वजनिक बिदा संशोधन गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले अट्वारीको अवसरमा भदौ ८ गते सार्वजनिक बिदा दिनेगरी बिदा संशोधन गरेको हो ।
यसअघि, सो पर्वको अवसरमा साउन २५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिइएको थियो । उक्त बिदाको निर्णय प्रदेश राजपत्रमा पनि प्रकाशित भइसकेको थियो । तर, थारु समुदायको अट्वारी पर्व यसवर्ष भदौ ८ गते परेकाले बिदा संशोधन गरिएको हो ।
यसरी मनाइन्छ अट्वारी पर्व
पश्चिम नेपालका तराईवासी थारू समुदायमा अट्वारी पर्व निराहार व्रत बसेर मनाउने गरिन्छ । पश्चिम नेपालको कञ्चनपुरदेखि दाङसम्म धुमधामसँग यो पर्व मनाउने गरिन्छ ।
मध्यरातमा दर खाएपछि पर्वको पहिलो दिन आइतबार आधा दिनसम्म निराहार व्रत बस्ने चलन छ। व्रतालुहरूले दिउँसोतिर पूजाआजा गरेर मात्र जल ग्रहणका साथै अन्डीको रोटी, फलफूल, दुध खाने चलन छ।
उक्त परिकारहरू खानुभन्दा अगाडि एक भाग निकालेर आफ्ना विवाहित दिदीबहिनीका लागि छुट्टै राख्ने गर्दछन्। पर्वको दोस्रो दिन व्रतालुहरूले बिहान स्नान गरेर पूजाआजा गर्ने र घरमा बनाइएका मिठा मिठा परिकार खाने गर्दछन्। दोस्रो दिन खरिया, फुलौरी, खुर्मा, माछा, मासु जस्ता परिकार खाने चलन छ। यसलाई थारू भाषामा ‘फरहार’ गर्ने भनिन्छ। अन्डीको रोटीसहित खानाका सबै परिकार पर्वको दोस्रो दिन आफ्ना विवाहित छोरीचेलीलाई उपहारका रूपमा दिने चलन छ।
यसलाई ‘अग्रासन’ दिनु भनिन्छ । थारू समुदाय प्रकृतिपूजक रहेकाले अग्नि पूजाको रूपमा सूर्य देवताको पूजा गरेर अट्वारी पर्व मनाउने चलन छ। सूर्यले ताप, शक्ति र उज्यालो दिने भएका कारण अट्वारी पर्वमा सूर्य देवताको पूजा गरेमा सुख, शान्ति र दीर्घजीवन मिल्ने गरेको बताइन्छ ।
अट्वारी पर्व मनाउनुको एउटा कारण महाभारतसँग पनि जोडिएको बताइन्छ। पाँच पाण्डवमध्येका माइलो भाइ भीमले अप्ठ्यारोमा परेकी थारू चेलीलाई सहयोग गरेका कारण भीम अर्थात भेँवाको पूजाआराधना गरी अट्वारी मनाउने गरेको किंवदन्ती छ। भीमले तावामा राखेको रोटी एकैतर्फबाट मात्रै पाकेकाले अट्वारीमा खाने अन्डीको रोटी थारू समुदायले एकैतर्फबाट मात्रै पकाउने गरेको बताइन्छ।



