सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा रवि खड्का नियुक्त

भर्खरै

धनगढी, २९ जेष्ठ/सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा लोकबहादुर खड्का (रवि) नियुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयको सिफारिसमा प्रदेश मन्त्रिपरिषद्को बैठकले खड्कालाई सदस्य सचिवमा नियुक्त गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले बताउनुभयो ।
सदस्य सचिवमा नियूक्त भएका खडकाले खेलाडी र खेल क्षेत्रको विकासका लागि आफु लाग्ने बताउनुभयो । उहाँले सुदूरपश्चिमका नौ वटै जिल्लाको खेलाडीको क्षमता अभिवृद्धि र खेलकुद क्षेत्रको विकासमा आफुले कार्य गर्ने बताउनुभयो । उहाँले अहिले बजेट निर्माण भइसकेको र सरकारले कस्तो बजेट ल्याउँछ सो अनुसार आफु काम गर्न तयार रहेको बताउनुभयो । उहाँ सदस्य सचिवमा नियुक्त भइसकेपछि शुभचिन्तहरु बधाई दिन मुख्यमन्त्री कार्यालयमै पुगेका थिए । मुख्यमन्त्री कमलबहादुर शाहले सदस्य सचिव खड्कालाई मिठाई खुवाएर बधाई दिनुभयो ।


झण्डै तीन महिनादेखि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिव पद रिक्त थियो । ०७७ चैतमा चार वर्षका लागि खेलकुद परिषद्को सदस्य सचिवमा दीपकबहादुर सिंह नियुक्त भएका थिए । उनको कार्यकाल ९ चैतदेखि सकिएको थियो । सो पश्चात सरकारले नयाँ सदस्य सचिव नियूक्त गर्न सकेको थिएन । उनी नियूक्त भएसंगै खेलाडीहरुमा केही आशा पलाएको जनाइएको छ ।
खड्का फुटबल र हक्कीका पूर्वखेलाडी हुन् । उनले आधा दर्जन बढी राष्ट्रिय फुटबल प्रतियोगिता खेलिसकेका छन् भने एउटा राष्ट्रिय हक्की खेल पनि खेलेका थिए ।
कैलाली जिल्ला कुस्ती संघका अध्यक्ष भइसकेका खड्का क्रिकेट विकास समिती क्षेत्र नम्वर ९ का कोषाध्यक्ष पनि थिए । तत्कालीन क्षेत्रीय खेलकुद विकास समितिको सदस्य भएर पनि खड्काले काम गरिसकेको अनुभव छ । उनी नेपाली काँग्रेसमा आवद्व छन् ।