धनगढी, २९ जेष्ठ/बैंकिङ कसुर मुद्दाकी आरोपित कैलालीको अत्तरियाकी बिना चौधरी (योगी) काठमाण्डौंबाट पक्राउ परेकी छिन् । उनी विरुद्ध इलाका प्रहरी कार्यालय मालाखेतीमा ४ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । यद्यपि उनी मुद्दा दायर हुनु अघि नै गोदावरी नगरपालिका–१ अत्तरियामा रहेको घर बिक्री गरेर २०८१ असार देखि नै फरार भएकी थिइन् ।
सहकारीकी पूर्व कर्मचारी समेत रहेकी उनले अत्तरिया क्षेत्रका विभिन्न व्यक्तिहरूबाट पैसा लिएर चेक दिएको तर, ती चेक बाउन्स भएपछि उनी विरुद्ध उजुरी परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक रणबहादुर चन्दले बताए ।
उनी विरुद्ध चार वटा मुद्दा बैंकिङ कसुर (चेक बाउन्स) का भए पनि २ मुद्दा अनुसन्धान सकिएर अदालतमा पुगेको र २ मुद्दा अनुसन्धानका क्रममा रहेको प्रहरी नायव उपरीक्षक चन्दले बताए ।
अत्तरियामा रहेको अपि सैपाल सहकारीमा आबद्ध रहेकी उनले सहकारीबाट पनि ४ लाख लोन लिएको र ४ लाख सहकारीका सदस्यबाट उठाएर सहकारीमा इन्ट्री नगरेको पाइएको थियो ।
यद्यपि, सहकारीले २०८१ साउन २८ गते पत्रकार सम्मेलन गर्दै असार १५ गते नै २÷३ जना सदस्यको रकम कार्यालयमा नचढाइएको पाइएपछि निलम्बन गरिएको जनाएको थियो ।
उनी विरुद्ध हाल ४ उजुरी परे पनि अझै धेरै उनीबाट ठगिएका पीडित रहेको प्रहरीको अनुमान छ । काठमाण्डौंमा पक्राउ परेकी बिनालाई लिन इलाका प्रहरी कार्यालय मालाखेतीबाट बिहीबार नै प्रहरी काठमाण्डौं गएका छन् ।



