धनगढी, २८ जेष्ठ/कार्यस्थलमा विद्यमान जोखिम तथा खतराबाट श्रमिकको सुरक्षा र स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई न्यूनिकरण गर्न आफूहरु प्रतिवद्ध रहने रोजगारदाताहरुले बताएका छन् ।
धनगढीमा आयोजित व्यावसायिक सुरक्षा र स्वास्थ्य सम्बन्धी कार्यशालामा सहभागी रोजगार दाताहरु सो कुरामा प्रतिवद्धता जनाएका हुन् । नयाँ नयाँ प्रविधिको प्रयोगका कारण कार्यस्थलमा जोखिम र जटिलता बढ्दै गइरहेकोले यसबाट श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यमा समस्या एवं चुनौतीहरु थपिदै गइरहेको भन्दै उनीहरुले त्यसको न्यूनिकरणका लागि आफूहरु प्रतिवद्ध रहेको बताएका छन् ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय र हेल्भेटासको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशले आयोजना गरेको तीन दिने कार्यशालाको समापन कार्यक्रममा उनीहरुले आफ्नो कम्पनीमा श्रमिकहरुको सुरक्षा ध्यानमा राखेर योजना बनाएर कार्यान्वय गर्ने प्रतिवद्धता जनाए ।
सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख गणेशबहादुर सिंह, हेल्भेटास नेपाल परियोजना प्रदेश प्रमुख गंगा विश्वकर्मा, प्रशिक्षक दिनेश साहले सहभागीहरु उद्योगीहरुलाई श्रमिकको सुरक्षा ध्यानमा राखेर काम गर्न अनुरोध गरे ।
नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष मदनराज पन्तको अध्यक्षतामा भएको समापन कार्यक्रममा ज्योति भट्टले सहजीकरण गरेका थिए ।



