सुदूरपश्चिममा सारसको संख्या बर्सेनि घट्दो क्रममा

भर्खरै

कञ्चनपुर, ८ जेष्ठ/सुदूरपश्चिम प्रदेशको दुई तराईका जिल्लामा सारसको संख्या बर्सेनि घट्दो क्रममा रहेको छ । सिमसार क्षेत्रमा देखापर्ने सारस हाल देख्नै मुस्किल हुन थालेको छ ।
कैलालीमा पाँच र कञ्चनपुरमा २२ वटासम्म सारस अभिलेख गरिएका छन् । त्यो संख्या पछिल्ला वर्षहरूमा घट्दै गएको छ । कञ्चनपुरमा यस चराको संख्या करिब १० देखि १५ रहेको अनुमान गरिएको उनले बताए ।
अग्लो खुट्टा र लामो घाँटी हुने सारसको शरीर सेतो, घाँटी खैरो र टाउको रातो हुने गर्दछ । सारसको उचाइ पाँचदेखि छ फिटसम्म हुने गर्दछ । जीवनभर एउटै जोडीमा रहने सारसको तौल ६ देखि १२ किलोसम्म हुने गरेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कालिकिच ताल, बेलडाँडी गाउँपालिकाको सिमसार क्षेत्रमा सारस देखापर्ने गरेका छन् । यहाँ कहिलेकाहीँ बर्सातका बेला अन्य क्षेत्रका धान खेत तथा कैलालीको घोडाघोडी रामसार क्षेत्रमा मा आहारा खोज्दै गरेको अवस्थामा सारस देखापर्ने गरेका छन् ।
नेपाल पन्छी संरक्षण संघका चराविज्ञ हिरुलाल डगौराका अनुसार खेतीका लागि किसानले रासायनिक मलसँगै कीटनाशकको अत्यधिक प्रयोग गर्न थालेपछि यस चराको अस्तित्व नै संकटमा परेको छ । सारसको सिकार गर्ने, अण्डा चोरी गर्ने कार्यसँगै जलवायु परिवर्तन, वातावरण प्रदूषणलगायतले थप जोखिम सृजना गरेको छ ।
कृषिमा रासायनिक मल र विषादीको प्रयोगलाई निरुत्साहित गर्दै जैविक मल र जैविक विषादीको प्रयोगलाई बढावा दिन किसानलाई उत्प्रेरित गराउन आवश्यक रहेको जानकारहरू बताउँछन् । “दुई दशक अघिसम्म सारस चरा सहजै रूपमा धानका खेतमा आहारा खोज्दै गरेको अवस्थामा देखिने गरेका थिए, हिउँदमा मटरका दाना खान खेतमा आउँथे”, शुक्लाफाँटा नगरपालिका–३ का थारु अगुवा दानसिंह दहित भन्छन, “रासायनिक मल र विषादीको प्रयोगमा व्यापकता आएपछि सारस देखिन छाडेका छन्, फाटफुट रूपमा पनि अरू चराजस्तो देखिएका छैनन् ।”
सारसलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित पन्छीका रूपमा राखिएको छभने अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घले यसलाई संवेदनशील चराको सूचीमा राखेको छ । तथ्याङ्कअनुसार रुपन्देही, कपिलवस्तु र नवलपरासीमा मात्रै सारसको सङ्ख्या ६ सय बढी रहेको छ । दक्षिण एसियामा भने यस चराको सङ्ख्या १० हजार जति रहेको अनुमान गरिएको छ ।