कैलालीका प्रमुख जिल्ला अधिकारीको सूचना अधिकारीलाई निर्देशन, ‘सही सूचना सहज रूपमा उपलब्ध गराउनुहोस्’

भर्खरै

धनगढी, २६ वैशाख/कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले सूचना मागकर्तालाई सही सूचना सहज रूपमा उपलब्ध गराउन सूचना अधिकारीहरूलाई निर्देशन दिनु भएको छ ।
हुलाक निर्देशनालयले शुक्रबार धनगढीमा आयोजना गरेको सूचनाको हक सम्बन्धी छलफल कार्यक्रममा उहाँले दिन मिल्ने सूचना सहज रूपमा उपलब्ध गराउन सरकारी कार्यालयमा कार्यरत सूचना अधिकारीहरुलाई निर्देशन दिनु भएको हो ।
सूचना पाउने हक कानुनमा नै व्यवस्था भएकाले सार्वजनिक निकायबाट माग गरेको सूचना पाउनु नागरिकको अधिकार रहेको प्रमुख जिल्ला अधिकारी हमालको भनाइ छ । ‘हामी अझ जिम्मेवार भएकाले कानुनको अक्षरस पालन गर्नु हाम्रो कर्तव्य हो’, हमालले भन्नुभयो, ‘सूचना मागकर्ता नेपाली नागरिकलाई दिन मिल्ने सूचनाहरू अनिवार्य रूपमा दिनुपर्छ ।’
कार्यक्रममा हुलाक निर्देशनालयका निर्देशक जितेन्द्र विकले सार्वजनिक निकायलाई जिम्मेवार, पारदर्शी बनाउन र नागरिकलाई सुसूचित गर्नका लागि सूचनाको हकको व्यवस्था भएको बताउनुभयो। सार्वजनिक निकायले पाँच प्रकारका सूचनाबाहेक बाँकी सबै सूचना नियम बमोजिम माग गरेका मागकर्तालाई दिन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारी कार्यालयहरूले २० प्रकारका सूचनाहरू तीन÷तीन महिनामा स्वतः प्रकाशन गरेर नागरिकलाई सुसूचित गर्ने व्यवस्था रहेको छ ।’
कार्यक्रममा कैलालीमा रहेका विभिन्न सरकारी कार्यालयका सूचना अधिकारीको सहभागिता रहेको थियो ।