आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, श्रमिकका अधिकार सुनिश्चित गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता

भर्खरै

धनगढी, १८ वैशाख/आज मे दिवस अर्थात् १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
विश्वभरका मजदुरले यो दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् ।
यसपटक पनि नेपालमा समेत विभिन्न मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ । सो आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट र प्रहरीको गोली लागेर सातजना मजदुरको मृत्यु भएको थियो । मजदुर आन्दोलनले अन्ततः सफलता हासिल गर्‍यो ।
पछि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । नेपालमा पनि विराटननगरमा विस। २००३ मा भएको श्रमिक आन्दोलनको सफलता र विसं २००७ को परिवर्तनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदासमेत दिन थालिएको छ ।
यहाँ मे दिवसको परम्परा पञ्चायती शासनको विरोध गर्दै भित्रिएको थियो । नेपाल ट्रेड युनियन महासङ्घका अनुसार पहिलोपटक विसं २०१९ मा नेपाल मजदुर सङ्गठनले पहिलो पटक मे दिवस आयोजना गरेको थियो ।
यसैबिच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले आन्तरिक तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकको अधिकार सुनिश्चिताका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले सबै श्रमजीवी तथा रोजगारदातालाई एकजुट भई श्रमिक अधिकारको संरक्षण, सामाजिक न्याय र समावेशी समृद्धिको दिशामा अघि बढ्न आह्वान गरे ।