धनगढी, ११ वैशाख/धनगढीका आगलागी पीडितहरुले क्षतिपूर्तिका लागि पहल गरिदिन सुदूरपश्चिम प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
आगलागी पीडितहरुले धनगढीस्थित देउवा निवासमा पुगेर सुदूरपश्चिम प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवालाई उचित क्षतिपूर्तिको लागि पहल गरिदिन र आगामी प्रदेश सभामा प्रदेश सरकारले अछामका आगलागी पीडितहरुलाई क्षतिपूर्ती दिने, धनगढीका पीडितलाई किन विभेद गरेको भनेर आवाज उठाइदिन अनुरोध गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

आगलागी घटना पश्चात नियमित रुपमा प्रदेश सरकार र अन्य निकायलाई क्षतीपूर्तिको माग गर्दै आएपनि मागको सुनुवाई नभएकाले धनगढीका आगलागी पीडितहरुको भनाई छ । ‘पटक पटक ध्यानाकर्षण गराउँदा पनि वेवास्था गर्दै आएको सुदूरपश्चिम प्रदेश सरकारले गत चैत २७ गते अछामका आगलागी पीडिहरुलाई ५० लाख रकम दिने घोषणा गरेको सञ्चार माध्यमबाट जानकारी पाउँदा प्रदेश सरकार प्रदेशका नागरिक प्रति विभेदकारी रहेको प्रष्ट छ । प्रदेश सरकारको जनतालाई हेर्ने दृष्ट्रिकोण समान नभएको पुष्टि भएको छ । प्रदेश सरकार अन्तर्गतका कुनै जिल्लाका नागरिक आफ्ना र कुनै जिल्लाका नागरिक परायको दृष्ट्रिकोण राख्नु सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहका गतिविधिहरुले पुष्टि गरेको छ’ पूर्वमन्त्री देउवालाई बुझाएको ध्यानकर्षण पत्रमा उल्लेख छ ।
‘आगलागी पीडितहरुले सुदूरपश्चिम प्रदेश सरकारको विभेदकारी निति र धनगढीका आगलागी पीडितलाई हेर्ने दृष्ट्रिकोणका विषयमा हामी आफ्नो जनप्रतिनिधि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (ख) का माननीय मार्फत उचित क्षतिपूर्तीको लागि पहल गरिदिन हार्दिक अपिल सहित ध्यानाकर्षण गराउन चाहन्छौं । आगामी प्रदेश सभामा प्रदेश सरकारले अछामका आगलागी पीडितलाई क्षतिपूर्ती दिने, धनगढीका पीडितलाई किन विभेद भनेर आवाज उठाइदिन अनुरोध अनुरोध गर्दछौं’ पूर्वमन्त्री प्रकाश बहादुर देउवालाई बुझाइएको ध्यानाकर्षण पत्रमा लेखिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै पूर्वमन्त्री प्रदेश सभा सदस्य प्रकाश बहादुर देउवाले यस विषयमा प्रदेश सभामा आवाज उठाउँने र उचित क्षतिपूर्तिका लागि पहल गर्ने बताउनुभयो । ‘म यस क्षेत्रको जनप्रनिधि भएको नाताले तपाईको माग प्रदेश सरकारसंग पटक–पटक उठाउँदै आएको छु । डेढ वर्ष भयो तपाईहरुको माग उठाउँदै आएको तर पूरा गरिएन’ पूर्वमन्त्री प्रकाश बहादुर देउवाले भन्नुभयो, ‘अछाममा भएको आगलागी पीडितहरुलाई प्रदेश सरकारले ५० लाख रुपैयाँ दिने घोषणा गरेको छ । सरकारले विभेद गर्नु हुँदैन आगलागीबाट जुनसुकै जिल्ला र ठाउँका पीडित भएपनि समान व्यवहार गर्नुपर्छ भन्ने तपाईहरुको माग छ त्यसमा मेरो पनि समर्थन छ ।’ तपाईहरुले पाउने क्षतिपूर्तिका लागि म पहल गर्छु उहाँले भन्नुभयो ।
१ मंसिर २०८० मा आगलागीबाट अस्पताल र संगै जोडिएका अन्य ८ वटा पसलमा क्षति भएको थियो । धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित मुख्य बजारमा रहेको नेपाल खाद्य तथा व्यापार केन्द्रको भवनमा आगलागी हुँदा सारथी अस्पताल र संगै जोडिएका अन्य ८ वटा पसलमा आगलागीका कारण १४ करोड ५० लाख बराबरको क्षति भएको थियो । सारथी अस्पतालका वेदप्रकाश जोशी, भण्डारी सुज सेन्टरका दिलबहादुर भण्डारी, भण्डारी जनरल स्टोरका दिलबहादुर भण्डारी, भट्ट सपिङ सेन्टरका बासुदेव भट्ट, मधुमाला वेवी कलेक्सनका टेकेन्द्र शर्मा, सुभिक्षा वेवी सपका जगतबहादुर बलायर, न्यू सुदिक्षा इन्टरप्राईजेजका यशोदा साउँद र बसुदेव भट्टले सञ्चालन गरेको भट्ट ट्रेड एण्ड सप्लायर्समा क्षति पुगेको थियो ।




