प्रहरीमा १० डीआईजी पद रिक्त

भर्खरै

धनगढी, ७ वैशाख/नेपाल प्रहरीमा जनपद समूहतर्फ १० जना डीआईजी पद रिक्त भएको छ । वैशाख ४ मा बढुवा समितिले ६ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेसँगै १० जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई डीआईजीमा बढुवा गर्न मिल्ने भएको हो । एआईजी बढुवा सिफारिस मन्त्रिपरिषद्बाट सदर भएपछि डीआईजी बढुवा सिफारिस गर्ने गरी तयारी भइरहेको गृह मन्त्रालयका अधिकृतहरू बताउँछन् ।
बढुवा हुन ३ वटा टोलीको बिचमा प्रतिस्पर्धा छ । २०५४ चैत १८ मा भर्ना भएका सुदर्शन कोइराला र दीपक रेग्मी डीआईजी बन्ने दौडमा छन् । तर, उनीहरूसँगै भर्ना भएका दानबहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारी चाहिँ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा सिफारिस भैसकेका छन् ।
राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर प्रहरीको जनपद समूहमा आएका १० जना डीआईजी हुने दौडमा छन् । राष्ट्रिय अनुसन्धान विभागबाट आएका ओमबहादुर राना, माधव प्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, शारदा प्रसाद चौधरी, विनोद घिमिरे, जयराज सापकोटा, सञ्जीव शर्मा दास, सुरेन्द्र बहादुर गुरुङ, दिलीप सिंह देउवा र दीपक कुमार बस्नेत डीआईजीको प्रतिस्पर्धी हुन् ।


ओम बहादुर राना, दिलीप सिंह देउवा, सुरेन्द्र बहादुर गुरुङ र माधव प्रसाद श्रेष्ठ २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका थिए । दीपेन्द्र घर्ती क्षेत्री २०५५ जेठ ७ मा, दीपक कुमार बस्नेत, विनोद घिमिरे र जयराज सापकोटा २०५४ माघमा राअमा सेवा प्रवेश गरेका हुन् ।
डीआईजीको प्रतिस्पर्धामा रहेको अर्को टोली छ, ५०५६ असार ३ मा भर्ना भएका १५ जना अधिकृत । प्रथम सूचीमा वरिष्ठ उपरीक्षक भएका विश्व अधिकारी, भूपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल, अवि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासीनी, दीप शमशेर जबरा, गोपाल चन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्ण बहादुर पल्ली मगर, तारादेवी थापा र प्रज्वल महर्जन प्रतिस्पर्धामा छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड गरेका भूपेन्द्र खत्री र सोमेन्द्र सिंह राठौर संगठनमा काविल अफिसर भनेर चिनिन्छन् । विश्व अधिकारी अहिले काठमाडौँ प्रहरी प्रमुख छन् । प्रहरी उपरीक्षक हुँदा चितवन सरुवामा ‘विवाद’ भए पनि गंगा पन्तले त्यसपछि पर्साको कमाण्ड गरेकी थिइन् ।
ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा बल प्रयोग गरेको आरोपमा सिद्धिविक्रम शाहलाई हटाएर शेखर खनाललाई ललितपुरमा पठाइएको थियो । २०८० पुसमा भएको प्रदर्शनमा प्रहरीको बल प्रयोगबाट अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतले ज्यान गुमाएका थिए । खनाल अहिले उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् ।