काठमाडौँ, ७ वैशाख/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौँको बिजुली बजारमा प्रदर्शन गर्ने भएको छ । बिहान ११ बजेबाट भेला भई बिजुली बजारमा प्रदर्शन गर्ने राप्रपाको योजना छ । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएसँगै उपत्यका प्रहरी कार्यालयले प्रतिकारात्मक सुरक्षा योजना बनाएर लागु गरेको छ । जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर सुरक्षा योजना लागु गरिएको उपत्यका प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शेखर खनालले बताए ।
राप्रपाले प्रदर्शनको लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको छैन । अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने सुराक पाएसँगै निषेधित क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ । प्रदर्शनकारीहरू भद्रकाली, बबरमहल र बालुवाटारमा जम्मा हुन लागेका छन् । बालुवाटार स्थित प्रधानमन्त्री निवास आसपासको निषेधित क्षेत्रमा पनि ठुलो संख्यामा सुरक्षा परिचालन गर्नेगरी सुरक्षा योजना लागु गरिएको छ । ‘काठमाडौँ उपत्यकाको निषेधित ठाउँमा हामीले मजबुत सुरक्षा प्रबन्ध गरेका छौँ,’ एसएसपी खनालले भने, ‘जिल्ला सुरक्षा समितिबाट पारित सुरक्षा योजना अनुसार प्रदर्शन स्थल र निषेधित क्षेत्रमा ब्याक सपोर्टको रूपमा सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।’
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिल बोहराका अनुसार सूचना संकलन गर्न राष्ट्रिय अनुसन्धान विभागबाट पनि सुरक्षाकर्मीहरू परिचालन गर्नेगरी योजना बनाइएको छ । काठमाडौँ जिल्लाको सुरक्षा कमान्ड वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले गर्नेछन् ।



