धनगढी, २९ माघ/वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ३ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर १४ बस्ने २९ वर्षीय पूर्णबहादुर जेठारा र नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर १२ घर भई काठमाडौं नागार्जुन नगरपालिका वडा नम्बर २ बस्ने ३७ वर्षीय राजकुमार लामा रहेका छन् । पक्राउ मध्ये पूर्णबहादुरले पोर्चुगल पठाइदिछु भन्दै ३ जना पीडितहरूबाट ९ लाख रूपैयाँ र राजकुमारले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्क बिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पूर्णबहादुरलाई काठमाडौं महानगरपालिका वडा नम्बर ४ बाट र राजकुमारलाई काठमाडौं नागार्जुन नगरपालिका वडा नम्बर २ बाट आइतबार पक्राउ गरेको हो ।



