धनगढी, पुस ५ । कैलालीको धनगढी उपमहानगरपालिका १६ मा भादा होमस्टे गाउँ महोत्सव हुने भएको छ ।
थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा यही पुस १७ देखि २१ गतेसम्म महोत्सव हुने भएको हो ।
समितिले शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव आयोजनाबारे जानकारी दिएको हो । महोत्सव सोही ठाउँको दिपेन्द्र चारपाते माविको खेलमैदानमा हुनेछ ।
थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीका अनुसार २० घरमा सञ्चालनमा रहेको होमस्टेको विकास तथा थारु कला, संस्कृति, खानपानको प्रवर्द्धनको लागि महोत्सव आयोजना हुँदै आएको बताए । उनका अनुसार भादामा सन २०११ देखि महोत्सव आयोजना हुँदै आएको छ ।
स्थानीयहरूले आउने पर्यटकलाई मनोरञ्जन प्रदान गर्न थारु समुदायको मौलिक संस्कृति सखिया, झुम्रा, मघौटा, लठ्ठी, बैठक्की नाँचलगाति प्रदर्शन गर्दै आएका छन् भने मौलिक परिकार ढिक्री, खरिया, फुलौरी, अण्डीक भात, खुर्मा, पनझझरा, कचरीक् बरिया, घोंघी, गेङटा, सुटही, मुसाको सेकुवा, सिध्रा, महुवाको रक्सी, चामलको रक्सी र झोललगायतको व्यवस्था गर्दै आएका हुन् ।
महोत्सवको आकर्षणमा थारु देउथानको अवलोकन भ्रमण, लहरुमा गाउँको अवलोकन भ्रमण, थारु संग्रहलायको अवलोकन, रमाइलो मेला, खुल्ला भलिबल प्रतियोगिता र फोटो प्रदर्शनी छन् ।
महोत्सवमा करिब १ लाखले अवलोकन गर्ने अनुमान गरिएको छ । धनगढी बजारदेखि भादा गाउँ १७ किलोमिटरको दुरीमा रहेको पर्छ ।



